एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा



मलेखु, धादिङ, विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो ।

दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा विद्यालयमा लानुपर्ने नियम बनाइएको छ ।

उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ । १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ ।

सन्तुलित भोजनअनुसार चना, फूल, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता दिनदिनै भिन्न खाजा विद्यालयका सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ । विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयका शिक्षक मुना लामाले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्दै गरीबका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो ।

विद्यालयले कुनै शुल्क लिँदैन । भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने तर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने प्रतिबद्धताका साथ अघि बढेको शिक्षक लामाले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्