प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु



काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो ।
नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । प्रधानमन्त्रीको जवाफपछि बैठकमा आव २०७५÷७६ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७४÷७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ४८ मिनेट ढिलो अर्थात् ११ः४८ बजे शुरु भएको थियो । बैठक प्रारम्भ भएलगत्तै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रममाथि रचनात्मक र सिर्जनात्मक सुझाव प्रस्तुत गर्ने सांसदप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्