रोनाल्डोले रियलमा भविष्यबारे पछि बताउने



लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले रियल मेड्रिडलाई लगातर तीन पटक च्याम्पियन्स लिग उपाधि दिलाउन मद्दत गरेपछि उनको भविष्यबारे चाँडै घोषणा गर्ने बताएका छन् ।

किएभमा शनिबार राति भएको फाइनल खेलमा रियल मेड्रिडले लिभरपुललाई ३–१ गोलले हराउँदा गेरेथ बेलले दुई र करिम बेन्जेमाले एक गोल गरेका हुन् । रोनाल्डोले गोल गर्न नसकेपनि प्रतियोगितामा १५ गोल गरेर शीर्ष गोलकर्ता चाहिँ बनेका छन् । उनले बेइन स्पोर्ट्सलाई बताए–केही दिनमा मैले समर्थकहरुलाई उत्तर दिनेछु । रियल मेड्रिडमा हुनु राम्रो लागेको थियो । मेड्रिडका कोही पनि खेलाडीको भविष्य महत्वपूर्ण छैन, हामीले केवल इतिहास बनाएका छौ ।

रियल मेड्रिडमा हुनु किन भुतकालमा बताएको भनेर सोध्दा उनले भने—मसँग केही शंका छैन, यो महत्वपूर्ण पनि छैन । म अहिले विश्राम गर्छु र पोर्चुगल गएर टिमसँग भेट्छु । केही साता पछि म घोषणा गर्नेछु ।

३३ वर्षीय रोनाल्डो रियल मेड्रिडमा २००९ देखि आबद्ध छन् । उनको क्लबसँगको सम्झौता आगामी २०२१ सम्म नवीकरण पनि भएको छ । १९९२ देखि फरम्याट परिवर्तन भए यता उनी च्याम्पियन्स लिग उपाधि पाँच पटक जित्ने पहिलो खेलाडी हुन् । यस प्रतियोगितामा १ सय २० गोल गरेर सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् ।

फाइनलमा गोल नगर्दा निरास भएको हो कि भन्ने प्रश्नमा रोनाल्डोले भने—को निरास? शायद उनीहरुले च्याम्पियन्स लिगलाई सीआर सेभेन च्याम्पियन्स लिगको नाममा परिवर्तन गर्नु आवश्यक छ । जसले धेरै उपाधि र धेरै गोल गरे ।

प्रतिक्रिया दिनुहोस्