आयरल्यान्ड जनमत संग्रह, गर्भपात रोक्ने कानुन परिवर्तनको पक्षमा मतदान



डब्लिन, (एजेन्सी)
आयरल्यान्डमा शुक्रबार सम्पन्न एक जनमत संग्रह गर्भपातमाथि रोक लगाउने कानुन परिवर्तन गर्ने पक्षमा आएकोमा त्यहाँका प्रधामन्त्रीले जनताको प्रशंसा गरेका छन्।
भारतीय मूलका प्रधानमन्त्री लियो वराडकरले गर्भपातमाथि प्रतिबन्ध हटाउने पक्षमा मतदान गर्न जनतालाई आ≈वान गरेका छन्।

केही वर्षअगाडि भारतीय मूलका डेन्टिस्ट सविताको मृत्यु भएपछि आयरल्यान्डमा गर्भपातलाई लिएर ठूलो बहस शुरू भएको थियो। हाल आइरहेको मतगणनाको नतिजाले उक्त कानुनमा सुधार गर्नुपर्ने पक्षमा अत्यधिक मतदान भएको देखाएपछि लियो वराडकरले जनताप्रति आभार प्रकट गरेका थिए।

उनले यसलाई देशमा आएको ‘शान्त क्रान्ति’को संज्ञा दिएका छन्। ‘जनताले बोलेका छन्। तिनीहरूले आधुनिक राष्ट्रका लागि आधुनिक संविधान आवश्यक भएको बताएका छन्।’ –उनले बताए।

मतदानमा ६९ प्रतिशत मत गर्भपातमाथि कडा प्रतिबन्ध लगाएको संविधानको हिस्सालाई परिवर्तन गर्नुपर्ने पक्षमा गएको देखाएको छ। ३१ वर्षीया भारतीय दन्त चिकित्सक सविता हलप्पनवारको सन् २०१२ अक्टोबरमा समयमा गर्भपात हुन नसक्दा मृत्यु भएको घटनालाई यस जनमत संग्रहमा व्यापक प्रचार गरिएको थियो।

वराडकरले जनमत संग्रहमा धेरैले भाग लिने अपेक्षा गरेको बताएका थिए। आयरल्यान्डका दुई प्रमुख पार्टी फाइन गेल र फिआना फेले जनमत संग्रहलाई लिएर कुनै आधिकारिक धारणा दिएका थिएनन्। तर उनीहरूले पार्टीका नेताहरूलाई आ–आफ्ना व्यक्तिगत धारणालाई लिएर प्रचार गर्न अनुमति दिएका थिए।

गर्भपात रोक्ने कानुनलाई निरस्त पार्ने पक्षमा मतदान भएपछि अब आयरिस सरकारले ल्याएको प्रस्तावअनुसार गर्भावस्थाको पहिलो १२ हप्ताभित्र महिलाले गर्भपात गराउन सक्नेछिन्।

त्यसपछि पनि गर्भधारणको २४ हप्तासम्म महिलाको जीवन खतरा रहेमा वा कुनै महिलाको शारीरिक वा मानसिक स्वास्थ्यलाई गम्भीर क्षति पुग्ने जोखिम रहेमा गर्भपातको अनुमति दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्