भन्सारको निर्णय कार्यान्वयन भएन



विराटनगर, (नेस)
विराटनगर भन्सार कार्यालयले डेढ महिनाअघि ९ बजेपछि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। भन्सारमा अन्तिम समयमा हुने भीडभाड कम गर्न गरिएको उक्त निर्णय भंसारकै कर्मचारीहरूले कार्यान्वयन गर्न नसक्दा समस्या भएको उद्योगी व्यवसायीको गुनासो छ।

भन्सार कार्यालयको यार्ड सानो हुँदा मालबहाक ट्रक र सवारी साधन भन्सार कार्यालयदेखि विराटनगरको जुटमिलको खाली जग्गासम्म लाम लागेका छन्। भन्सार कार्यालयले यस्तो चाप हटाउनका लागि विहान ९ बजेनै एक लट गाडीको चेकजाँच सक्ने र पुनः दिउँसो अर्को लट चेकजाँच गर्दा भीडभाड हट्ने अपेक्षासहित ९ बजेदेखि नै कार्यालय खोल्न थालेको थियो। तर, उक्त निर्णय कार्यान्वयन अझै हुन सकेको छैन।

भन्सार कार्यालयले व्यापारीको बानीमा सुधार नआएसम्म उक्त निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकाले आवश्यक छलफल र परामर्श गरिरहेको जनाएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले उक्त निर्णय कार्यान्वयनमा व्यापारी नै बाधक भएको बताइरहँदा व्यापारीहरू भने भन्सारकै ढिलासुस्तीले यस्तो भएको बताउँछन्। क्लियरिङ एजेन्ट नआएका कारण भन्दा पनि भन्सार कार्यालयकै कारण ढिलाइ भएको व्यापारीहरूको भनाइ छ। भन्सार कार्यालयको परम्परागत सोचका कारण समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको भनाइ छ।

व्यापार संघका अध्यक्ष सारडाले भीडभाड हटाउनका लागि एकीकृत जाँच चौकी (आइसीपी) निर्माणमा तदारुकता अपनाउनु पर्नेमा जोड दिनुभयो। भन्सार कार्यालय आसपासमा थन्किएका मालबहाक ट्रकको लाइनका कारण आवत जावतमा पनि समस्या छ। गर्मी, धूलो र भीडभाडका कारण भन्सार क्षेत्रबाट आवत जावत गर्ने सर्वसाधरणले समेत सास्ती पाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्