अनुदान पाउने ५ हजार थपिए



काठमाडौं, (नेस)
निजी आवास पुनर्निर्माण अनुदानका निम्ति लाभग्राही छनोट भएका छन्। लाभग्राहीमा आफू सूचीकृत हुनुपर्ने भन्दै भूकम्प अति प्रभावित १४ जिल्लामा गुनासो दर्ता गराई केन्द्रबाट प्रारम्भिक परीक्षण भई छुट तथा पुनःजाँच सर्वेक्षण कार्यक्रमअन्तर्गत २०७४ भदौदेखि कार्तिकमा स्थलगत रूपमा इन्जिनियर परिचालन गरी संकलन गरिएको तथ्यांकलाई विश्लेषण तथा परीक्षण गरी लाभग्राही पहिचान भएकाले थप नाम छनोट भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले हालसम्म विश्लेषण सकिएका विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही बनाएको छ।

भूकम्प अति प्रभावित १४ जिल्लामा ५ हजार ५ सय १ जनालाई प्रवलीकरण लाभग्राहीमा सूचीकृत गरेको छ। प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार हाल धादिङका रुवीभ्याली र थाक्रे, दोलखाका विगु र कालिञ्चोक, गोरखाका सिरानचोक, कार्भेको बेथानचोक, ओखलढुगांका चिसंखुगढी र लिखु, रसुवाका गोसाईकुण्ड, कालिका, नौकुण्ड, पार्वतीकुण्ड, उत्तरगया, सिन्धुपलान्चोकका बलेफी, भोटेकोशी, हेलम्बु र जुगल गाउँपालिकाको छनोट कार्य सकिएको छ।

यस्तै नुवाकोटको बिदुर र सिन्धुपलान्चोकको ब्राहबिसे नगरपालिकाको समेत छनोट कार्य सम्पन्न भएको छ। यसरी कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनर्निर्माण अनुदान लाभग्राहीले ३ लाख र प्रवलीकरण लाभग्राहीहरूले १ लाख रुपियाँ अनुदान प्राप्त गर्नेछन्।

विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकीन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीको छनोटमा केही ढिलाई भएको हो। हाल विशेष प्राथमिकताका साथ यो कार्य भक्ष्रहेकाले जेठ मसान्तभित्र सर्वेक्षण भई केन्द्रमा आएका तथ्यांकबाट लाभग्राहीको पहिचान कार्य सम्पन्न भई स्थानीय तहमा सूची पठाइने प्राधिकरणका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्