“भारत स्वतन्त्रतामा नेपालको भूमिका अतुलनीय”



शिवहरिप्रसाद भट्टराई, राजविराज

नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले भारत आफ्नो ७०औं स्वतन्त्रता दिवस मनाइरहेको भन्दै यो अवसर ल्याउनमा नेपालको अतुलनीय भूमिका रहेको बताएका छन्।
शनिबार जेपी लोहिया रामेश्वर मेमोरियल ट्रस्टले राजविराजमा आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जयप्रकाश नारायणको देन’ विषयक विचार गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामी यतिबेला ७०औं स्वतन्त्रता दिवस मनाइरहेका छौं’, उनले भने– ‘भारतको स्वतन्त्रताका पछाडि नेपाली जनताको योगदानलाई स्वर्ण अक्षरले लेखिएको छ।’

बेलायती उपनिवेशका रूपमा भारतलाई गुलाम बनाइएको बेला नेपालबाट स्वतन्त्रताका लागि उपलब्ध सहयोग अविस्मरणीय रहेको भन्दै उनले नेपाल र भारतबीचको सम्बन्ध शोषकका बीचमा मात्र नभई जन–जनको बीचमा स्थापित भइसकेको जिकिर गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको हालै नेपाल भ्रमणबाट दुवै मुलुककाबीच विकासको मार्ग अझै फराकिलो बनेको बताउँदै राजदूत पुरीले भौगोलिक, सांस्कृतिक सँगसँगै आर्थिक उन्नतिमा एकआपसको भागिदारीले सम्बन्धलाई अझै बलियो बनाउने तर्क गरे। उनले भने– ‘नेपालको उन्नति प्रगति भारतका लागि पनि खुसीको विषय हो।’

राजदूत पुरीले जनकपुरमा केही महिनामै ब्रोड गेजको रेलमार्गमा भारतबाट रेल गुड्ने बताउँदै विराटनगरमा पनि रेल आएपछि दुई देशबीचको व्यापार अझै फस्टाउनेछ भने। व्यक्तिगत, सांस्कृतिकसँगै वाणिज्य सम्बन्धले दुई देशबीचको मीत्रतालाई अझ दिगो तुल्याउने उनको कथन थियो।

राजदूत पुरीले भारतीय सहयोगमा सप्तरीमा सञ्चालित करिब आधा दर्जन अधुरा योजना यथाशिघ्र पूरा गरी हस्तान्तरण गर्नसमेत आग्रह गरे। सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले रोटीवेटीको सम्बन्ध रहेको नेपाल र भारतबीचको मीत्रता प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि अझ दरिलो बनेको बताए।

भारतीय स्वतन्त्रता संग्रामका क्रममा राणा सरकारले सप्तरीको हनुमाननगरमा बन्दी बनाई राखिएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण र डा. राममनोहर लोहियालाई जेलमुक्त गराउन भूमिका खेलेका स्वर्गीय कृष्णवीर कामीका नाति अर्जुन विश्वकर्मा र मो. अब्दुल मियाँका नाति इब्राहिम मियाँलाई राजदूत पुरीले माला लगाएर सम्मान गरेका थिए।

हनुमाननगर जेल तोडेर जयप्रकाश र राम मनोहरलाई मुक्त गराउन भूमिका खेलेको आरोपमा राणा सरकारले अब्दुल र कृष्णवीरलगायतलाई पक्राउ गरी केन्द्रीय कारगारमा बन्दी बनाएको थियो। सोही कारागारमा कामीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्