अवैध बालगृह सञ्चालक पक्राउ, ३३ बालबालिकाको उद्धार



धनवीर दाहाल, रुकुम

अवैधरूपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ। मुसीकोट नगरपालिका–१, बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन्। शनिबार जिल्ला बाल कल्याण समिति, मुसिकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरी घर फर्काएका हुन्। जुम्लाका २४ जना बालबालिकाको जिम्मा महिला तथा बालबालिका कार्यालय जुम्लाका निरीक्षक हर्क महतले लिनुभएको छ। उहाँले शनिबार नै सबै बालबालिकालाई गाडी चढाएर जुम्ला पठाइएको रुकुमका बालअधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो।

रुकुम पूर्वका ९ बालबालिका भने जिल्ला बाल कल्याण समितिको संरक्षणमा छन्। अभिभावकलाई बोलाइएको र उनीहरू आएपछि बालबालिका जिम्मा लगाइने जिल्ला बालअधिकार अधिकृत ओलीले बताउनुभयो। जुम्लाको पातारासी गाउँपालिकाका १ र २ नम्बर वडाका २४ बालबालिका वैशाखदेखि सो बालगृहमा बस्दै आएका थिए। पातारासी गाउँपालिका–१, का २० र २ का ४ जनालाई पठनपाठन गराउन भन्दै बालगृहले ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्