फेसन ट्रेडमा सेलिब्रेटीदेखि पत्रकारसम्म



सेलिबे्रटीदेखि पत्रकारसम्मलाई र्याम्पमा नाप्न लगाउँदै शुक्रबार राति राजधानीमा भव्य फेसन शो गरिएको छ। राजधानीको फेसियल हाउसले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा फेसन ट्रेड सिजन टु नाममा फेसन शो गर्दै सेलिब्रेटीदेखि पत्रकारसम्मलाई र्याम्पमा क्याट्वक गराएको हो।

पोखरापछि दोस्रोपटक राजधानीमा गरिएको फेसन ट्रेडमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो। देशकै ठूलो फेसन शो भन्दै आयोजना गरिएको फेसन शो ७ सिक्वेन्समा विभाजित गरिएको थियो।


फेसियल हाउसले यसपल्ट फेसन शोका लागि मोडल मात्रै नभई रोल मोडल पनि छानेको थियो समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितलाई र्याम्पमा उतारिएको थियो। फेसन शोमा अभिनेतृ तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेतृ क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायतले र्याम्पमा क्याट्वक गरेका थिए।

त्यसैगरी पहिलोपल्ट पत्रकारलाई पनि र्याम्पमा उतारिएको थियो। शोका क्रममा २० जना पत्रकार र्याम्पमा उत्रिएका थिए।


कार्यक्रममा गायक युवराज चौलागाईं, गायिका आस्था राउतलगायतका गायक गायिकाले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेर फेसन शोलाई संगीतमय बनाएका थिए। फेसन ट्रेड सिजन टुका लागि सुष्मा महराका डिजाइन मेकअपलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देव, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाइनमा बिगेन तामाङ रहेका थिए।

फसन ट्रेड सिजन वान पोखरामा भएको थियो। नेपालमै पहिलोपल्ट ३ महिनासम्म हरेक शुक्रबार पारेर पोखरामा आयोजना गरिएको उक्त फेसन शो पोखरेलीमाझ चर्चित बनेको थियो।


फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर सुष्मा महराले फेसन ट्रेड सिजन टुले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताइन्। ‘यसपल्ट हामीले समय सान्दर्भिक फेसनेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टेड्रमार्फत प्रस्तुत गर्यौं’, फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर सुष्मा महराले भनिन्– ‘फेसन हिरो÷हिरोइन र मोडल गर्ने कुरा हो भन्ने मान्यता छ।

तर, सबै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरू आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका हौं।’ कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेसन सबैका लागि उत्तिकै जरुरी भएको बताए।

प्रतिक्रिया दिनुहोस्