एकिकृत घुम्ती शिविरबाट नागरिकलाई सुविधा प्रदान



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिविर सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि शुरु भएको दुईदिने घुम्ती शिविरमा जिल्लास्थित सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् ।

शिविरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले संयुक्तरुपमा नागरिकताको प्रमाणपत्र प्रदान गरी शिविरको औपचारिक शुरुआत गर्नुभएको थियो ।

शिविरमा नागरिकताको प्रमाणपत्र लिनेको संख्या बढी देखिएको छ । उक्त शिविरमा नागरिकता वितरणसँगै जिल्लास्थित सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरबाटै उपलब्ध गराइएको छ । शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र लिन आउनुभएकी अन्नपूर्ण–७ हिस्तानकी गौसिरी शेरबुजाले बेनी पुगेर लिनुपर्ने सेवा गाउँमै लिन पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यसैगरि शिविरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाटसमेत आयुर्वेदिक उपचार सेवा प्रदान गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेका छन् ।

त्यस्तै जिल्ला भूसंरक्षण, वन, कृषि, पशु सेवा, सिँचाइ सब डिभिजन, मालपोत, नापी, विद्युत्, खानेपानी तथा सरसफाइ सब डिभिजन, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य बिमा बोर्डलगायतका कार्यालयले आआफ्नो सुविधा एवं परामर्श सेवालाई शिविरबाटै प्रदान गरेको छ ।

ग्रामीण भेगका नागरिकलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँले आगामी साता मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर दरबाङमा समेत घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन पुनले गाउँपालिका भित्र नागरिकता लिन नसकेकाको सख्ंया बढिरहेको अवस्थामा गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर आयोजना गरी नागरिकलाई सहज तरिकाले सेवा प्रवाह भएको बताउनुभयो । भौगोलिकरुपमा विकटता रहेको अन्नपूर्ण गाउँपालिकाका नागरिकले एकै ठाउँबाटै बहु सेवा लिन पाउँदा खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्