बुटवल सामुदायिक वनको विवाद उत्कृषमा



यमलाल भुसाल, बुटवल । यसक्षेत्रकै पुरानो एवं जिल्लामै उत्कृष्ठ बन्न सफल बुटवल सामुदायिक वन उपभोक्ता समुह, बुटवल १ र २ (साविक १–४) रुपन्देहीको निर्वाचन सम्बन्धी विवाद चरम उत्कर्षमा पुगेको छ । केही ब्यक्तिहरुको हठ, दम्भ र स्वार्थका कारण संस्था नै धरापमा पर्ने अवस्थामा पुगेको छ भने उपभोक्ता समुह बिचको किचलो, आन्तरिक झगडा र राजनैतिक हस्तक्षेपले समुहको कार्यसमिति नै दुईवटा बन्न पुगेको छ ।

निवर्तमान अध्यक्ष माधव प्रसाद प्रधानकै नेतृत्वमा गठन भएको एउटा समितिले आफु आधिकारिक भएको दावी गर्दै नियमनकारी निकायमा आवश्यक आधार र प्रमाण सहितका लिखत दस्तावेज सहित प्रतिवेदन बुझाए दावि गरेको छ । उता रबिन्द्र गोपाल लाकौल नेतृत्वको समितिले पनि आफु आधिकारिक भएको दावी गर्दै समुहको कार्यालयमा तालाबन्दी गरेको छ । दुई समुहको झगडाका कारण सामुदायिक वन नै उपभोक्ताको हातबाट खोसिएर राष्ट्रिय वन बन्ने सम्भावना पनि बढेर गएको बुद्धिजिवीहरुको भनाई छ ।

गत चैत्र १० गते बोलाईएको १३ औं साधारण सभा तथा छैठौं अधिबेशनमा गणपुरक संख्या नपुगेको भन्दै उपभोक्ताले बिरोध जनाएपछि तत्कालिन कार्यसमितिले बैशाख ८ गतेका लागि दोश्रो पटक अधिबेशन डाकेको थियो । उता वडाअध्यक्ष महेन्द्र लिगल लगाएतका केही ब्यक्तिहरुको अगुवाईमा सो अधिबेशन अघिनै उपभोक्ता भेला गराई नयाँ कार्यसमिति गठन गरेको दावी गरेको छ । गणपुरक संख्या नपुराई निर्वाचन गराउन नहुने भन्दै अधिबेशनको बन्द सत्रमा भएको होहल्लाका बिच छानविन समिति र निर्वाचन समिति गठन गरिएको थियो ।

दुई समुहले अलग अलग गरेको उपभोक्ता भेला, अधिवेशन र निर्वाचनबाट निर्वाचित कार्यसमिति मात्र होईन संस्थाको नाम र छाप पनि अलग अलग नै रहेको छ । प्रधान नेतृत्वको समितिको नाम र छाप पुरानै अर्थात बुटवल सामुदायिक वन उपभोक्ता समुह, बुटवल १ र २ (साविक १–४) रुपन्देही भन्ने यथावत रहेको छ भने लाकौलले नेतृत्व गरेको नयाँ समितिको नाम र छाप छुट्टै बनाइएको छ ।

सो समितिको नाम सामुदायिक वन उपभोक्ता समुह बुटवल १–२ राखिएको छ । दुबै समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई छुट्टाछुट्टै नामका दुईथरि प्रमाणपत्रहरु पनि बितरण गरेका छन । अधिबेशनको नाम पनि फरक फरक रहेको छ । कार्यसमितिमा आधा संख्या महिलाको हुनुपर्ने तथा पदाधिकारीमा १ जना महिला अनिबार्य हुनुपर्ने नितिगत ब्यबस्था भएपनि लाकौल नेतृत्वको समुहमा पदाधिकारीमा महिलाको उपस्थिती नै छैन ।

बिसं २०५० स्थापना भएको सो समुहले हालै आफ्नो स्थापनाको २५ औं बर्ष प्रबेशको अवसरमा रजत महोत्सव मनाएको छ । तत्कालिन प्रधान नेतृत्वको कार्यसमितीले बैठकबाट अधिबेशनका लागि प्रेमलाल उदासको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकेको थियो तर अधिबेशनमा होहल्ला मच्चाएर छविलाल नेपाल संयोजक रहेको अर्को समिति गठन गरि जवरजस्ती हस्तक्षेप गरेर अघि बढेको आरोप प्रधान समुहको छ ।

पहिलो पटक आवहन गरिएको अधिबेशन र त्यहाँबाट गठन गरिएको निर्वाचन समितिले गराएको निर्वाचन प्रकृयाबाट कार्यसमिति चयन भएर आएको दावी लाकौल पक्षको रहेको छ ।

उता नियमनकारी निकाय सेक्टर वन कार्यालय बुटवलले दुबै समुहलाई अबैधानिक घोषणा गरि बिगठन गरेर नयाँ कार्यसमिति चयनको प्रकृयामा लैजाने तयारी गरेको छ । पटक पटक दुबै पक्षलाई सहमतीमा मिलेर जान सल्लाह, सुझाव र निर्देशन दिईएको भएपनि अटेर गरेकाले दुईवटै समुहलाई खारेज गरेर नयाँ समिति निर्माणको प्रकृयामा जानुको बिकल्प नरहेको कार्यालय प्रमुख यज्ञमुर्ति खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्