सेरेनाले फ्रेन्च ओपन जित्ला त?



लन्डन । सेरेना विलियम्सले आमा बनेर कोर्टमा फर्कदा चार वटा खेल खेलेकी छिन् । उनले गत सेप्टेम्बरमा छोरी (एलेक्सिस) जन्माएकी थिइन् । तर प्रशिक्षक प्याट्रिक मौराटोग्लोउले २३ पटककी ग्रान्डस्लाम विजेताले अझै पेरिसमा जित्न सक्ने बताइरहेका छन् । सेरेना हाल ३६ वर्ष पुगेकी छिन् । आईतबारदेखि पेरिसमा वर्षको दोस्रो ग्रान्डस्लाम भनेर परिचित रहेको प्रतियोगिता फ्रेन्च ओपन शुरु हुँदैछ ।

मार्चमा डब्ल्युटीएमा फर्केकी उनले इन्डियन्स वेल्समा खेलिन् तर उनी आफनै दिदी भेनससँग अन्तिम ३२ चरणमा पराजित भएकी थिइन् । उनले यसपछि जापानकी उदीयमान खेलाडी नाओमी ओसाकासँग मायामीमा पहिलो चरणमै हार बेहोरिन् । पूर्व विश्व नम्बर एक सेरेना विश्व वरियतामा ४ सय ५३ औं स्थानमा छिन् । रोलान्ड ग्यारोसमा वरियताविहीन बनेकी अमेरिकी खेलाडीले पहिलो खेलमा चेककी क्रिस्टिना पिलीस्कोभासँग खेल्नेछिन् ।
फिटनेस र प्रदर्शनबारे अझै प्रश्न चिह्न लागेपनि सेरेनाले चौथो फ्रेन्च ओपन सिंगल्स उपाधि जितेमा इतिहास नै बन्नेछ । विजेता बन्नासाथै उनले मार्गेरेट कोर्टको सदाबहार रेकर्ड २४ प्रमुख उपाधिसँग बराबर गर्न पाउनेछिन् ।

को को छन् सेरेनालाई टक्कर दिनेहरुः

सिमोना हालेपः रोमानियाकी हालेपको यो नम्बर एक खेलाडीको रुपमा हुनेछ । यस वर्ष डब्ल्युटीएमा अगाडि रहेकी हालेपले यसपटक पहिलो ग्रान्डस्लाम उपाधि जित्ने आशा गरिएको छ । रोलान्ड ग्यारोसमा गत वर्ष युवा खेलाडी यलेना ओस्टापेन्कोसँग उनी फाइनलमा हारेकी थिइन् ।
क्यारोलिन वजनीयाकीः डेनमार्ककी वजनीयाकीले यसै वर्ष अस्टे«लियन ओपन जितेर करियरमा पहिलो ग्रान्डस्लाम उपाधि हात पारेकी छिन् । जनवरीमा भएको फाइनलमा उनले हालेपलाई हराएकी थिइन् । तर यो क्लेकोर्ट उनको मनपर्ने कोर्ट भने होइन ।

एलीना स्विटोलीनाः युक्रेनकी स्विटोलीना कहिल्यै ग्रान्डस्लाम सेमीफाइनलसम्म पनि पुग्न सकेकी छैन । केही साता अगाडि क्लेकोर्टमै हुने इटालियन ओपनमा हालेपलाई हराएर उपाधि जितेको आधारमा उनलाई उपाधि दावेदारमा उभ्याएको छ ।

यलेना ओस्टापेन्कोः १२ महिना अगाडि रोलान्ड ग्यारोसमा वरियताविहीन हुँदै उपाधि जित्ने खेलाडी हुन् यलेना । लात्भियाकी यी खेलाडीले गत वर्ष फ्रेन्च ओपनमा हालेपलाई हराएकी थिइन् । यस वर्ष उनको त्यति राम्रो सिजन बनिरहेको छैन ।

मारिया सारापोभाः दुई पटकको फ्रेन्च ओपन विजेता हुन् रुसकी सारापोभा । गत वर्ष १५ महिनाको डोपिङ प्रतिबन्धमा परेर कोर्टमा फर्केदेखि उनले खासै राम्रो प्रदर्शन गर्न सकेकी छैन । तापनि अनुभवको आधारमा सारापोभालाई उपाधि जित्ने सक्ने दावेदारीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्