जनप्रतिनिधिबीच विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ



जाजरकोट । जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट जितेका अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीका भएपनि केन्द्र तोक्ने विषयमा विभाजित भएपछि निर्णय गर्न समस्या भएको छ ।
सरकारले जुनीचाँदे गाँउपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको छ । ११ वडा रहेको गाँउपालिकामा चार–चार वटा वडा तत्कालिन एमाले र माओवादी केन्द्रले र नेपाली काँग्रेसले तीन वटा वडामा जितेको छ । सवै पार्टीका वडाध्यक्षहरु केन्द्र तोक्ने विषयमा एकमत हुन सकेका छैनन् ।
निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना बितिसकेपछि दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

गाँउपालिकाको केन्द्र नतोक्दा अहिलेसम्म वडा कार्यालय समेत स्थापना हुन सकेका छैनन् भने अन्य विषयगत कार्यालय समेत अन्यौलमा छन् । गाँउपालिकाले पुर्वाधार विकासको लागि आवश्यक बजेटसमेत विनियोजन गर्न सकेको छैन । विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा सदरमुकाममा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्