बुटवलमा भौगर्भिक उद्यान बनाइने



रुपन्देही । बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने भौगर्भिक उद्यान बनाउने तयारी शुरु भएको छ ।

“वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउने बारेमा डिपीआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैले पनि हामीलाई ठूलो उत्साह जागेको छ”, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो ।

उहाँले यस क्षेत्रमा प्रदेशस्तरको उद्यान बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख गर्दै प्रदेश सरकारले तत्काल जग्गा खोज्न निर्देशन दिएको बताउनुभयो ।

सो उद्यानका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र र मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको छ । मुख्यमन्त्री पोखरेल, प्रमुख सुवेदी, योजना प्रमुख इञ्जिनीयर सुमन श्रेष्ठसहितको टोलीले सम्भावित तथा प्रस्तावित क्षेत्रको अवलोकन गरेको थियो ।

उपप्रमुख गुमादेवी आचार्यले प्राविधिक अध्ययनपछि उद्यान कहाँ राख्ने भन्ने विषयमा निश्चित हुने बताउनुभयो । बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने वातावरण सन्तुलित राख्न करीब ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाक्नुपर्ने बताइएको छ ।

उद्यानका लागि उपयुक्त जग्गा निश्चित हुनेबित्तिकै डिपीआर तयार हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । भूगर्भीय उद्यानबारेमा अध्ययन गर्न डा सागर न्यौपानेसहितको विज्ञ टोलीले हालै बुटवलका विभिन्न क्षेत्रको अध्ययनसमेत गरेको यसका अर्का अभियानकर्मी बलबहादुर आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्