एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व



पर्वत । यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयोे । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक कार्यक्रममा प्रदान गर्नुभयो ।

उहाँले छ बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँग सम्झौतामा हस्ताक्षर पनि गर्नुभयो । बालशिक्षाका मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का हरिकला क्षेत्री र भोलाकुमारी नेपाली तथा कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षेत्री छनोट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले जानकारी दिनुभयो ।
ती बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।
महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने औँल्याउनुभयो । हाल काठमाडौँ निवासी गुरुङले विद्यालयमा भएको सुधारले आफू हर्षित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्