मेड्रिड र लिभरपुल भिड्ने



लन्डन, (एजेन्सी)
युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता अर्थात् यूईएफा च्याम्पियन्स लिगको फाइनल आज राति हुँदै छ। प्रतियोगिताको यस सिजनको फाइनलमा स्पेनिस महारथी रियल मेड्रिड र इंग्लिस प्रिमियर क्लबबीच उपाधिका लागि भिडन्त हुँदै छ। सन् २०१२ को युरो कप प्रतियोगिताको फाइनल भएको युक्रेनको एनएससी ओलमपिस्की स्टेडियममा हुने सो फाइनलमा रियल मेड्रिडले सन् १९८१ यता पहिलोपटक लिभरपुलको सामना गर्नेछ।

अहिले रियल मेड्रिडका लागि लिभरपुलसँग बदला लिने अवसर पनि जुरेको छ। सन् १९८१ मा रियल मेड्रिडलाई १–० ले हराउँदै लिभरपुलले उपाधि चुमेको थियो। संयोग नै मान्नुपर्ला अहिले र १९८१ को च्याम्पियन्स लिगको सेमिफाइनलसँग मिल्दोजुल्दो समिकरण बनेको थियो। अहिले जस्तै १९८१ मा पनि स्पेनिस, जर्मन, इंग्लिस र इटालियन क्लब नै अन्तिम ४ मा पुगेका थिए। जहाँ रियल मेड्रिडले इन्टर मिलानलाई तथा लिभरपुलले बायर्न म्युनिखलाई हराउँदै फाइनल यात्रा गरेका थिए।

६३ हजार दर्शक क्षमताको सो रंगशालामा च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक १२ पटकका च्याम्पियन रियल मेड्रिड पल्ला आज भारी हुने देखिन्छ। यता छ पटकका विजेता लिभरपुललाई पनि कम आँक्न भने मिल्दैन। यीबीच हुने भिडन्त निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ।

रियल मेड्रिड यो समेत लगातार तेस्रोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। यसअघि दुवै संस्करण जितिसकेका मेड्रिडले लगालग तेस्रो पटक उपाधि रक्षा गरेर नयाँ इतिहास कोर्ने दाउमा छ। सेमिफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखको चुनौती ४–३ ले समाप्त पार्दै रियलले लगालग तेस्रो पटक फाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलको पहिलो लेगमा बायर्नलाई उसैको मैदानमा २–१ ले हराउनु नै रियलको फाइनल पुग्ने बाटो खुलेको थियो। दोस्रो लेगमा आफ्नै गृह मैदान सान्टियागो बर्नबाउमा पाहुना टोली बायर्नसँग २–२ ले रोकिए पनि पहिलो लेगको जित नै रियलका लागि निर्णायक साबित बनेको थियो।

यता सोही राति नै भएको अर्को सेमिफाइनलमा लिभरपुलले भने इटालियन क्लब एफसी रोमालाई उसैको मैदानमा ४–२ ले पराजित भए पनि समग्रमा दुई लेगको खेलबाट ७–६ ले जितको नतिजासहित फाइनलमा स्थान पक्का गरेको हो। पहिलो लेगमा लिभरपुलले आफ्नो घरेलु मैदानमा रोमालाई ५–२ ले पराजित गरेको थियो।

जारी सिजन यस प्रतियोगितामा अपराजित लिभरपुललाई रोमाले पहिलो हारको स्वाद चखाएको थियो। उक्त हारको बाबजुद लिभरपुलले च्याम्पियन्स लिगमा कीर्तिमानसमेत बनाएको छ। बार्सिलोनाको नाममा रहेको १८ वर्ष पहिलेको कीर्तिमानलाई लिभरपुलले तोडेका हुन्। यस सिजनको सर्वाधिक गोल गर्ने टोली लिभरपुल च्याम्पियन्स लिग इतिहासमा एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बनेको हो। लिभरपुलले ४६औं गोल गर्दै कीर्तिमान राखेको हो। यसअघि बार्सिलोनाले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले भने १४ खेलमा ४६ गोल गरेको हो। लिभरपुलका लागि यो सिजन मोहमद सालाह तथा रोबर्टो फर्मिनोले १० र साडियो मानेले ९ गोल गरेका छन्।

लिभरपुलका प्रशिक्षक जर्गेन कलोपले यस प्रतियोगितामा रियल जति अनुभवी अरू कोही नभएको बताएका छन्। उनले भने– ‘रियलमा रहेका ८० प्रतिशत खेलाडीलाई फाइनलको अनुभव छ। पछिल्ला ५ वर्षमा रियलको यो चौथो फाइनल हो। उनीहरू अनुभवी छन् तर उपाधिका लागि हामी डटेर खेल्नेछौं।’ कलोपको प्रशिक्षणमा २ पटक युरोपा लिगको फाइनल पुगेको लिभरपुल दुवै पटक असफल भएका थिए। लिभरपुल दुवैपटक स्पेनिस क्लब सेभीयासँग पराजित भएका थिए।

यता जिनेदिन जिदानले सम्हालेयता रियलले दुईपटक च्याम्पियन्स लिगको ट्रफी उचालिसकेका छन्। रियलले प्रतियोगिताको समूह एच को शुरुका दुई खेल जितेका थिए। तर टोटनह्यामसँग पहिलो खेल १–१ को बराबरी र दोस्रो खेल ३–१ ले गुमाउनु परेको थियो। समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेको रियलले पेरिस सेन्ट जर्मेन तथा क्वार्टरफाइनलमा युभेन्ट्सको चुनौती समाप्त पार्दै सेमिफाइनलको यात्रा गरेका थिए। यता लिभरपुलले भने समूह ई को विजेताका रूपमा अन्तिम १६ पुगेका थिए। जहाँ लिभरपुल भने क्रमशः पोर्चुगलको एफसी पोर्टो र क्वार्टरफाइनलमा आफ्नै राष्ट्रको चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको चुनौती समाप्त पार्दै अन्तिम चारमा प्रवेश पाएका थिए।

यी दुईबीचको भिडन्तमा सबैको चासोको विषय बनेको छ क्रिस्टियानो रोनाल्डो र मोहमद सालाह। रोनाल्डोको कुरा गर्दा उनी च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले कीर्तिमानी १ सय २० गोल गरेका छन्। यति मात्र होइन, उनले यस सिजनको ला लिगामा रियलका लागि २६ गोल गरेका छन्। यता सालाहको गोल संख्याले भने रोनाल्डोलाई उछिनेको छ। उनले यस सिजनको प्रिमियर लिगमा ३२ गोल आफ्नो नाममा लेखाइसकेका छन्। पछिल्ला दुई खेललाई मूल्यांकन गर्ने हो भने रियल आक्रमण पक्ष धारिलो देखिन्छ। बीबीसी अर्थात बेल, बेन्जेमा र क्रिस्टियानोसहितको अग्रपंक्तिलाई रोक्न लिभरपुलका रक्षकलाई सोचेजति सहज हुने छैन। जसलाई मिडफिल्डमा लुका मोड्रिच र टोनी क्रुसको साथले अझ मजबुत बनाउने छ। रक्षापंक्तिमा सर्जियो रामोस, राफेल भराने र डिफेन्सिभ मिडफिल्डर कासेमेरोको समन्वयले लिभरपुलका स्ट्राइकरहरू सालाह, रोबेर्टो फर्मिनो र साडियो मानेको अग्नी परीक्षा लिनेछ।

जारी सिजन रियलले कुनै म्याच दबाबमा खेल्नुपरेको छैन। रियलले पीएसजी, युभेन्ट्स र बायर्न जस्ता बलिया टिमलाई हराएर फाइनलको यात्रा गरेका हुन्। यता लिभरपुल पनि सेमिफाइनलको पहिलो लेगसम्म अपराजित रहँदै आएका थिए। लिभरपुल विशेष गरी सालाह, फर्मिनो र मानेको अग्रपंक्तिमा बढी निर्भर हुनेछ।

प्रतिक्रिया दिनुहोस्