साताभर नेप्सेमा करिब २१ अंकको गिरावट



काठमाडौं, (नेस)
यससाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १ हजार ३ सय १८ दशमलव २२ अंकमा पुगेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८३ कम्पनीको कारोबार भएको छ। जसअनुसार १९ हजार ७ सय १३ कारोबारबाट १ अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपियाँ बराबरका ४१ लाख ३७ हजार ४ सय ३० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो। गत साता १ सय ७६ कम्पनीको कारोबार भएको थियो। जसअनुसार १४ हजार २६ कारोबारबाट १ अर्ब ८ करोड १९ लाख ४१ हजार रुपियाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताभर ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव ३७ अंकले घटेर २ सय ७७ दशमलव ८९ अंकमा आईपुगेको छ। यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। उक्त अवधिभर बैंकको २२ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा पनि सात दिनमा ३ लाख ९६ हजार कित्ता शेयर खरिद बिक्री भएर नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक नै अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो भने साताभर ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।

प्रतिक्रिया दिनुहोस्