ली का–सिङको व्यावसायिक छलाङ



काठमाडौं, (नेस)
ली का–सिङ एक सफल उद्योगी, व्यापारी, व्यवसायिक लगानीकर्ता र समाजसेवीका रुपमा चिनिन्छन्। हङकङलाई कर्म थलो बनाएर व्यवसाय सञ्चालन गरिरहेका लीको सफलताको कथा भने निकै प्रेरणादायी छ।

ली का–सिङ सन् १९२८ जुलाई २९ मा चीनमा जन्मिएका हुन्। तर, विश्वयुद्धताका चीनमा जापानी सेनाको आक्रमणपछि उनको परिवार भागेर शरणार्थीका रुपमा हङकङ पुगेको थियो। उनले दोस्रो विश्वयुद्धका क्रममा आफ्ना बुबा गुमाए भने सन् १९४० मा शरणार्थीका रुपमा भागेर हङकङ पुगेसँगै उनको पढाईमा पनि पूर्णविराम लाग्यो। चीनमा रहँदा आर्जन गरेको प्राथमिक तहसम्मको शिक्षा नै लीको शैक्षिक योग्यता हो। रित्तो हात नयाँ ठाउँमा पुगेको उनको परिवारलाई विहान बेलुका हातमुख जोर्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आयो।

उनले १३ वर्षको उमेरमा नै एक प्लास्टिक उद्योगमा काम गर्न शुरू गरे। एउटा बौद्धिक, आफ्नो काम प्रति लगनशील र कडा मेहनत गर्ने कामदारमा रुपमा उक्त कम्पनीमा आफ्नो छवि बनाए। उनले दैनिक १६ घण्टासम्म खटिएर काम गर्ने गर्थे। उक्त कम्पनीमा काम गर्दै गर्दा उनले प्लास्टिकका भाडा, खेलौनालगायत वस्तु उत्पादनका बारेमा ठूलो अनुभव संगालिसकेका थिए। करिब एक दशक उक्त कम्पनीमा काम गरेपछि उनले सन् १९५० मा आफ्नै प्लास्टिक उद्योग खोले। लीले २१ वर्षको उमेरमा आफ्ना आफन्त र केही आफूसँग रहेको रकमबाट चेउङ काङ प्लास्टिक उद्योग स्थापना गरेका थिए।

दोस्रो विश्वयुद्धका क्रममा आफ्ना बुबा गुमाए ली का–सिङकासन् १९४० मा शरणार्थीका रुपमा भागेर हङकङ पुगेसँगै उनको पढाईमा पनि पूर्णविराम लाग्यो।

कम्पनी स्थापनाका शुरूवाती दिनमा प्लास्टिकका फूल उत्पादन गर्ने गथ्र्यो। जसले बिस्तारै अमेरिकी बजारमा पनि आफ्नो व्यापार विस्तार गर्दै गयो। व्यवसाय विस्तारको सम्भावना देखेपछि लीले लगानी बढाउँदै लगे भने व्यवसाय पनि फस्टाउँदै गयो। उनले सन् १९५८ मा घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनी खरिद गर्यो। प्लाल्टिकका वस्तु उत्पादन गर्ने कम्पनीको नाम परिवर्तन गर्दै सन् १९७१ मा चेउङ्ग कोङ् होल्डिङ्सका नामबाट कारोबार शुरू गरे। उक्त कम्पनी तत्कालीन समयमा प्लास्टिकका सामग्री उत्पादन गरेर विश्व बजार ओगट्ने सबैभन्दा ठूलो कम्पनीका रुपमा दरियो। पहिलो व्यवसायबाटै अपार सफलता पाएपछि लीले आफ्नो व्यापारको क्षेत्र बिस्तार गर्दै, रियल स्टेट, बन्दरगाह सञ्चालन, इलेक्ट्रिोनिक्स, दूरसञ्चार, र इन्टरनेट सेवामा पनि लगानी गरेका छन्।

फोब्र्सका अनुसार अर्बपतिको सूचीमा यस वर्ष ली २३औं स्थानमा छन्। उनी हङकङका धनी व्यक्ति हुन् भने विश्वका शक्तिशाली व्यक्तिको सूचीमा ४६औं स्थानमा छन्। यस अर्थमा पनि ली एसियाका निकै प्रभावशाली धनाढ्यमा गनिन्छन्। लामो समयसम्म आफ्नै कम्पनी ‘सीके हचिन्स होल्डिङ’ र ‘सीके एस्सेट होल्डिङ’को अध्यक्ष्ँका रुपमा रहेका ली हाल ती कम्पनीको सल्लाहकारका रुपमा रहेका छन्।

सन् २०१५ मा उनले आफ्नो व्यवसायबाट अवकाश लिएको घोषणा गरेका थिए। हाल उनका छोरा भिक्टरले व्यवसाय सम्हालिरहेका छन्। सीके हचिन्स होल्डिङ र सीके एस्सेट होल्डिङ कम्पनीमा हाल ३ लाख २३ हजार जना व्यक्तिलाई रोजगारी दिइरहेको छ।

लीले आफ्नो परिचय एक परोपकारी व्यक्ति र समाजसेवीका रुपमा पनि बनाएका छन्।उनले आफ्नो कमाईबाट २ दशमलव ६ विलियन अर्थात २६ अर्ब नेपाली रुपियाँ बराबर ‘ली–का सिङ फाउन्डेसन’मार्फत् दान गरेका छन्। जसको ८० प्रतिशत ‘ग्रेटर चाइना मुभमेन्ट’ नामक अभियान सञ्चालनका लागि जाने गरेको छ। परोपकारका क्षेत्रमा उनले प्रायःजसो विद्यालय र अस्पताललाई प्राथमिकतामा राखेर आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

ली सन् २००१ मा हङकङको सबैभन्दा ठूलो मानिएको ग्रान्ड बाउहिनिया मेडलबाट सम्मानित भए। अधिकांश क्षेत्रफल समुद्रसँग जोडिएको हङकङ एसियाको व्यापारिक हबका रुपमा रहेको छ भने त्यहाँका अधिकांश बन्दरगाहमा लीको लगानी रहेको छ। विश्वभर नै बन्दरगाहबाटै सबैभन्दा बढी पैसा कमाउने व्यक्तिहरूको सूचीमा लीको नाम पहिलो नम्बरमा आउँछ। उसकार उनी बन्दरगाहका बादशाह भनेर पनि चिनिन्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्