टेगौरमाथि हाम्रो अधिकार धेरै छ ः शेख हसिना



कोलकाता, (एजेन्सी)
म्यान्मारबाट आएका रोहिंग्या शरणार्थीको मुद्दामा बंगलादेशले भारतलाई मद्दतका लागि आग्रह गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शुक्रबार दुई दिवसीय भारत भ्रमणका क्रममा कोलकाता पुगेकी छिन्। हसिनाले मानवताका आधारमा रोहिंग्यालाई आफूले सरण दिएको बताइन्। अब उनीहरू चाँडै आफ्नो देश फर्कून् भन्ने आफूले चाहेको उनले बताइन्। प्रधानमन्त्री मोदीले यसमा म्यान्मारसँगको वार्तामा आफूलाई सहयोग गर्नुपर्ने उनले बताइन्।

शेख हसिनाले भनिन्– ‘रोहिंग्या मुसलमानले बंगलादेशमा सरण लिएका छन्। हामीले मानवताका आधारमा उनीहरूलाई स्थान दियौं। अब उनीहरू चाँडै आफ्नो देश (म्यान्मार) फर्कून् भन्ने हामीले चाहेका छौं। म तपाईं (मोदी)सँग अपिल गर्न चाहन्छु कि रोहिंग्यालाई फिर्ता गर्नमा म्यान्मारसँगको वार्तामा हामीलाई सहयोग गर्नुस्।’

यसअघि प्रधानमन्त्री मोदीसँग पश्चिम बंगालको विश्वभारती विश्वविद्यालयको दिक्षान्त समारोहमा उनी सहभागी भएकी थिइन्। मोदीले दुई जना प्रधानमन्त्रीसँगै यस्तो समारोहमा सहभागी भएको पहिलो घटना भएको बताए। दुवै नेताले शान्ति निकेतनमा बंगलादेश भवनको उद्घाटन पनि गरेका थिए। ‘रवीन्द्रनाथ टेगौरसँग दुवै देशको सम्बन्ध छ, किनभने उनले भारत र बंगलादेशको राष्ट्रगान लेखेका थिए। उनले कयौं कविता बंगलादेशमा बस्दा लेखेका थिए। त्यसैले हामी दाबी गर्न सक्छौं, उनीमाथि हाम्रो हक धेरै छ।’ –शेख हसिनाले बताइन्।

नरेन्द्र मोदी र शेख हसिनाबीचको यो भेटघाट ३७ दिनपछिको दोस्रो हो। यसअघि दुई नेताबीच अप्रिल १८ मा कमनवेल्थ समिटका क्रममा लन्डनमा द्विपक्षीय वार्ता भएको थियो। दुई दिवसीय भारत भ्रमणका क्रममा हसिनाले रोहिंग्या संकट र नदी जल सम्झौतामा भारतीय नेताहरूसँग वार्ता गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्