धर्मपुत्री मार्ने अस्ट्रेलियालीलाई आजन्म कैद



सिडनी, (एजेन्सी)
नृत्य कक्षाबाट घर फर्किंदा आफ्नै धर्मपिताबाट हत्या गरिँदा अस्ट्रेलियाली छात्रा टियालेइग पाल्मर १२ वर्षकी थिइन्। सो हत्याकाण्डको केही घण्टाअघि रिक थोर्वनले आफ्नो किशोर छोरा ट्रेन्टले उनीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएका थिए। तिनीहरू उनी गर्भवती होलिन् भनेर डराएका थिए।

त्यसैले क्विन्सल्यान्ड निवासी थोर्वनले एउटा नदीको किनारमा उनको नांगो लास गाडेका थिए। शुक्रबार उनलाई सो हत्याको अभियोगमा आजीवन कारावास सुनाइएको छ। न्यायाधीश डेविड बोडिसले सो हत्या सुनियोजित एवं निकै क्रुर भएको बताएका छन्। सम्पूर्ण अस्ट्रेलियालाई नै स्तब्ध पार्ने गरी भएको यस हत्याकाण्डमा संलग्न रहेको अभियोगमा यसअघि नै थोर्वनकी पत्नीलगायत दुई छोरालाई कारावास सजाय भइसकेको छ। यस घटनाले क्विन्सल्यान्डको धर्मपुत्र वा पुत्री बनाउने प्रणालीमाथि नै पुनरावलोकन गर्नुपर्ने अवस्था आएको थियो।

साथै बालबालिकाको नाजुक स्थितिप्रति प्रहरीले समाजलाई सचेत पारेको छ।

पाल्मर सात वर्षको उमेरदेखि ब्रिस्वेनदेखि ४५ किमि दक्षिणमा पर्ने लोगान शहरको सो परिवारको संरक्षणमा हुर्कंदै आएकी थिइन्। सन् २०१५ को जनवरीमा यो हत्याकाण्ड भएको थियो। सोही वर्षको ३० अक्टोबरमा यस परिवारले प्रहरीसमक्ष पाल्मर हराएको उजुरी दिएको थियो। अनुसन्धान शुरू गरिएको एक सातापछि प्रहरीले उनको लास बरामद गरेको थियो। लास नराम्ररी कुहिसकेकोले प्रहरीलाई शुरूमा उनको लिंग ठम्याउन नै गाह्रो भएको थियो।

प्रहरीले यस हत्याकाण्डको अनुसन्धानको सिलसिलामा पाल्मरको विद्यालयका थुप्रै साथीहरूसँग सोधपुछ गरेको थियो। साथै यस हत्याकाण्डका बारे सही सूचना दिनेलाई १ लाख ९० हजार अमेरिकी डलर पुरस्कारको घोषण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्