उत्तर कोरिया अझै अमेरिकासँगको वार्ताका लागि आशावादी



सोल, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना सिंगापुरमा हुने आफू र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहारिक शिखर वार्ता रद्द गरिसकेकपछि उत्तर कोरियाले शुक्रबार आफू अझै पनि कुनै पनि समय कुनै पनि किसिमको वार्ताका लागि तयार रहेको जनाएको छ।

प्योङयाङका उपविदेशमन्त्री किम क्ये ग्वानले ट्रम्पको निर्णय अत्यन्तै दुखदपूर्ण भएको प्रतिक्रिया दिएका छन्। तर ट्रम्पले भने उत्तर कोरियाको शत्रुतापूर्ण वक्तव्यबाजीको कारण रिस उठेर सो निर्णय गरेको बताएका थिए।

तर उत्तर कोरियाको यस पछिल्लो भनाइलाई ट्रम्पले ‘न्यानो र उत्पादनशील’को संज्ञा दिएका छन्। ट्रम्पले दीर्घकालिन समृद्धि र शान्तिका लागि अमेरिकाले पनि चाँडै पहल गर्ने संकेत दिएका छन्।

केही समयअघि उत्तर र दक्षिण कोरियाबीच भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाबीच पनि वार्ता हुने वातावरण बनेको थियो। १२ जुनमा हुने भनिएको सो वार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि वार्ता कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने र तनाब घटाउने विषयमा केन्द्रिैत रहने अनुमान गरिएको थियो। बिहीबार ट्रम्पले सो वार्ता रद्द भएको घोषणा गर्नु केही समयअघि उत्तर कोरियाले आफ्नो आणविक परीक्षणस्थलको शुरूङ ध्वस्त पारेको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्