ज्याकपोर्ट खेलाउनेलाई खोइ त कारबाही ?



नेपाल समाचारपत्र
काठमाडौं
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपको हाताभित्र पर्ने काठमाडौं फनपार्कमा सम्झौताविपरीत जुवा (ज्याकपोर्ट) खेलाउने गरेको पाइए पनि अहिलेसम्म केही कारबाही हुन सकेको छैन।
फनपार्कभित्र गैरकानुनी रूपमा जुवा (ज्याकपोर्ट) खेल निर्वाध सञ्चालनमा रहँदा पनि राजनीतिक पहुँचका व्यक्ति संलग्न भएकाले केही कारबाही गर्न नसकिएको समाज कल्याण परिषद्को प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप सञ्चालन कार्यालय स्रोतले बतायो।

‘फनपार्क राजनीतिक आडमा लिजमा लिएर सञ्चालन गरिरहेको छ’, स्रोतले भन्यो– ‘राजनीतिक आड पाएकै कारण गैरकानुनी क्रियाकलाप भइरहँदा पनि केही गर्न सकिरहेका छैनौं।’ कलिला बालबालिकाका लागि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन हुने संवेदनशील स्थान फनपार्कभित्र ग्याङफाइटको कला सिकाउने प्रकृतिको खेलसमेत निर्वाध सञ्चालन भइरहेको स्रोतको भनाइ छ।

यस्तो प्रकृतिको फनपार्कको गैरकानुनी क्रियाकलापले गर्दा बालबालिकालाई नकारात्मक दिशातिर लाग्न प्रेरित गर्दछ। यस्ता प्रकृतिका खेलमा बालबालिकाले खेलको माध्यमबाट मनोरञ्जन लिने कार्य गरे पनि लत बस्दै कालान्तरमा आपराधिक क्रियाकलापमा रूपान्तरण हुने भन्दै अभिभावकसमेत यसमा चनाखो रहनुपर्ने जानकारको भनाइ छ।

समाजमा घटिरहेका अनेकौं आपराधिक घटना छन्, जुन जुवाको लत पनि कारक बनेको छ। जसले गर्दा बाल संवेदनशील स्थानमा यस्ता प्रकृतिका खेल निषेध नै गर्नुपर्ने धारणा जानकारहरू राख्छन्। फनपार्कसँग समाज कल्याण परिषद्ले १५ वर्षसम्मका लागि गरेको सम्झौतापत्रको ९ नम्बर बुँदामा द्वितीय पक्ष (फनपार्क सञ्चालक) ले कानुनले निषेधित कार्य गर्न गराउन पाइने छैन। मेला क्षेत्रभित्र जुवा खेल्ने, खेलाउने र यस्तै प्रकृतिका खेल÷स्टल राख्न पाइने छैन भनी उल्लेख गरिएको छ।

तर फनपार्कभित्र खुलमखुलापमा यस्तो प्रकृतिका खेल खेलाउँदा पनि कारबाही गर्नुको सट्टा सम्बन्धित नियमक निकाय मौन छ। परिषद्का सूचना अधिकृत प्रह्लाद पन्तले फन पार्कभित्र यस्ता क्रियाकलाप भएको अहिलेसम्म सुन्नमा नआएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले यस्तो कुरा त अहिलेसम्म सुनेको छैन। थप बुभेर भनूँला।’ सम्झौता गर्दा पनि कानुनले निषेध गरेका कुनै पनि क्रियाकलाप नगर्नु भनेको भन्दै उहाँले चाँडै अनुगमन गरेर सत्यता बुझेर त्यसलाई रोक्ने बताउनुभयो।

२०६९ असोज १ मा भएको भएको उक्त सम्झौतामा परिषद्को तर्फबाट तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव र पार्क सञ्चालकको तर्फबाट पूर्वराज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको हो। यस विषयमा उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले तीन वर्षअघि स्थलगत अनुगमन, निरीक्षण गरी परिषद्, मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको थियो।

केन्द्रले अनुगमन गर्दा पनि फनपार्क÷बालउद्यान क्षेत्रभित्र सम्झौतामा उल्लेख गरिएभन्दा फरक प्रकृतिका जुवा खेलजस्तो र ग्याङफाइटको जस्तो कला सिकाउने प्रकृतिका खेलसमेत सञ्चालन भएको भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। केन्द्रले प्रतिवेदन तयार पार्दै त्यस्ता प्रकृतिका खेल हटाउनुपर्ने सुझाव दिएको थियो। तर केन्द्रले प्रतिवेदन तयार पारेको ३ वर्ष बितिसक्दासमेत त्यो खेल खेलाउन न रोकेको छ न त हटेको नै छ। सम्झौताविपरीत निर्वाध खेलाइरहँदासमेत सम्बन्धित निकायले टुलु–टुलु हेर्ने सिवाय केही भएको देखिँदैन।

प्रतिक्रिया दिनुहोस्