डी सिने अवार्डमा कृ सर्वोत्कृष्ट, छक्का पञ्जा पपुलर



बिहीबार राजधानीमा सम्पन्न दशौं डी सिने अवार्डमा कृ सर्वोत्कृष्ट फिल्म र छक्का पञ्जा २ पपुलर फिल्म सावित भएको छ। शत्रु गतेलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको छ।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार राति आयोजित अवार्ड समारोहमा लिलीबाट मिलन चाम्स सर्वाेत्कृष्ट निर्देशक, कृबाट अनमोल केसी अभिनेता, पञ्चायतबाट नीता ढुंगानाले अभिनेतृको अवार्ड चुमे। ‘यो मेरा लागि अवार्डमात्र होइन, रेस्पोन्सबिलिटी पनि हो’ –अवार्ड ग्रहणका क्रममा अनमोलले भने। समारोहमा अवार्ड प्रदान गर्ने क्रममा अभिनेता सुनिल थापाले अनमोल केसीजस्तो स्टारले नेपाली फिल्म क्षेत्रको विकास भएको चर्चा गरेपछि अवार्ड ग्रहणका लागि मञ्चमा पुग्दा अनमोलले थापाको खुट्टा ढोगेर सम्मान प्रदान गरेका थिए।
विभिन्न सांगीतिक र नृत्य प्रस्तुतिका साथ अगाडि बढाइएको अवार्ड समारोहमा ए मेरो हजुरबाट नायिका झरना थापा नव निर्देशकको अवार्डकी हकदार बनिन् भने सोही फिल्मबाट सलिनमान बानियाँ नवनायक र लिली बिलीबाट जसिता गुरुङ नवनायिका सावित भए। त्यसैगरी ए मेरो हजुरबाटै सलोन बस्नेत सहअभिनेता र छक्का पञ्जा–२ बाट वर्षा राउत सहअभिनतृ तथा घामपानीबाट पुष्कर गुरुङ चरित्र अभिनेता र मंगलमबाट मिथिला शर्मा चरित्र अभिनेतृको अवार्ड विजेता भए।

२९ विधामा अवार्ड प्रदान गरिएको समारोहमा छक्का पञ्जाबाट केदार घिमिरे हास्य कलाकार, ऐश्वर्यबाट प्रशान्त ताम्राकार खलपात्र र पिंजडा ब्याक अगेनबाट कुशाग्र भट्टराईले बालकलाकारको अवार्ड चुमे। त्यस्तै भुईंमान्ेछबाट नवराज बुढाथोकी कथा, लिली बिलीबाट प्रदीप भारद्वाज पटकथा, घामपानीबाट दिपेन्द्र लामा संवाद विधाको अवार्ड विजेता भए भने संरक्षणको सम्झनाको सारथी बोलको गीतबाट धिरेन्द्र प्रेमर्षी गीतकार, ऐश्वर्यको तिमी रोएको पलबाट सुगम पोखरेले गायक, मंगलमको पर्ख पर्ख मायालुबाट विन्दु परियारले गायिकाको अवार्ड चुम्दा २ रूपैयाँको कुटुमा कुटुबाट राजनराज शिवाकोटी संगीतकार र यही गीतबाट कविराज गहतराज नृत्य निर्देशकको विजेता भए। त्यसैगरी रुद्रबाट हिमाल केसी द्वन्द्वनिर्देशक, कृबाट पुरुषोत्तम प्रधान छायाँकार, मंगलमबाट मीत्रदेव गुरुङ सम्पादक, लिली बिलीबाट एलिष कार्की पाश्र्वसंगीत, कृबाट ग्लेज इन्टरटेनमेन्ट एनिमेशन र संरक्षणबाट सुनयमान श्रेष्ठ ध्वनिमिश्रण विधाको विजेता भए।

समारोहमा ब्लाइन्ड रक्सलाई जुरी अवार्ड, मंगलमबाट अभिनेता पुष्पल खड्का र निर्देशक नवल नेपाललाई क्रिटिक्स अवार्ड तथा संरक्षणबाट पुणेन्द्र झालाई इनकरेजमेन्ट अवार्ड प्रदान गरिएको छ। त्यस्तै नेपाली कलाकारलाई लिएर नेपालमै पहिलोपटक निर्मित फिल्म आमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी हास्य अभिनेत्री बसुन्धरा भुषाललाई नगद २५ हजार रुपियाँसहित छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गरिएको थियो। छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेतृ तथा निर्मात्री मौसमी मल्ल तथा वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदान गरिएको छ।

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार अभिनेता तथा सञ्चारकर्मी श्याम अर्याललाई १० हजार रुपियाँसहित प्रदान गरिएको छ। अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, पत्रकार तथा निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया थिए।

 

 

 

 

तस्वीर ः रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्