धूवाँ फ्याँक्ने सवारीलाई रोक



– अब ६/६ महिनामा सवारीसाधन परीक्षण गर्नुपर्ने
– धूवाँ फ्याक्ने सवारीसाधनले हरियो स्किटर नपाउने
मधुसूदन रायमाझी, काठमाडौं

सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ। अत्यधिक धूवाँ फ्याँक्ने सवारीसाधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न लागेको हो। सवारीसाधनबाट निस्किने धूवाँका कारण वायु प्रदूषण हुनुका साथै नागरिककै स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले रोक लगाउने योजना यातायात व्यवस्था विभागले अगाडि बढाएको छ।
यातायात व्यवस्था विभागले धूवाँ परीक्षण गरिएको हरियो स्टिरक टाँसिएको सवारीसाधनलाई मात्र सञ्चालन गर्ने दिने नियम लागू गर्न लागेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताउनुभयो। उहाँका अनुसार आगामी साउन १ गतेबाट सबै ६ महानगरपालिका, ११ उपमहानगरपालिका र काठमाडौं उपत्यकामा धूवाँ फ्याँक्ने सवारीसाधन रोक लगाउन लागिएको हो।

‘हरियो स्टिकरबिना अब सवारी गुडाउन पाइँदैन’, प्रवक्ता अर्यालले भन्नुभयो– ‘वातावरणलाई सफा राख्न र नागरिकलाई ढुक्कसँग सडकमा हिँड्ने वातावरण सृजना गर्न पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं उपत्यकामा यो नियम लागू गर्न लागेका छौं।’
विभागले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनको धूवाँ परीक्षण गर्न ४० वटा अटोमेटिभ एक्सहन्ट ग्यास एनालाइजर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।
मेसिन खरिद भएपछि सबै महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं उत्पयकामा रहेको यातायात कार्यालयमा जडान हुनेछ। आधुनिक मेसिनबाट सवारीसाधनको धूवाँ परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी भए हरियो स्टिकर नदिने तयारी विभागले गरेको छ। मेसिनको सञ्चालन यातायात कार्यालयका मेकानिकले गर्नेछन्।
यातायात व्यवस्था विभागले यातायात कार्यालयमार्फत सवारीसाधनको धूवाँ परीक्षण गर्न २० वटा डिजेल र २० वटा पेट्रोलका गरी ४० वटा मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।
समय–समयमा सवारीसाधन सर्भिसिङ नगरी चलाउँदा धूवाँ फ्याँक्ने अवस्थाको अब अन्त्य हुने भएको छ। विभागका प्रवक्ता अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘छ÷छ महिनामा सवारी साधनको चेकजाँच हुन्छ, तोकिएको मापदण्डभन्दा बढी धुवाँ फ्याक्ने सवारी साधनले हरियो स्टिकर पाउँदैनन्।’ उहाँका अनुसार तोकिएको भन्दा बढी धूवाँ फ्याँक्ने सवारीसाधनलाई कानुनअनुसार कारबाही गरिनेछ।

हाल काठमाडौं उपत्यकामा सञ्चालित पुराना सवारीसाधनले अत्यधिक रूपमा धूवाँ फ्याँक्ने गरेका छन्। नेपाल यातायातले झन् अत्यधिक धूवाँ फ्याँक्ने गुनासो सर्वसाधारणले गर्ने गरेका छन्।
पेप्सीकोला, बालकुमारीलगायतका क्षेत्रमा सञ्चालित नेपाल यातायातले सडकमा सर्वसाधारणसमेत हिँड्न नसक्ने गरी धूवाँ फ्याँक्ने गरेको पेप्सीकोलाका पवन भट्टराई बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘सडकमा धुलोले त्यसै त सहज रूपमा हिँडडुल गर्न सकिँदैन, त्यहीमाथि नेपाल यातायातले धूवाँ फ्याँक्दा हिँड्न नै असहज हुँदै आएको छ।’

प्रतिक्रिया दिनुहोस्