फिरौती माग्दै अपहरणको धम्की दिने ३ जना प्रहरीको फन्दामा



बाघको अवैध छालासहित थप ३ जना समातिए

यमलाल भुसाल, बुटवल ।
फिरौती रकम माग्ने र नदिएमा परिवारका सदस्यलाई अपहरण गरि ज्यान लिने भन्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई टेलिफोनबाट बारम्बार फोन तथा म्यासेज गरी पाँच लाख रुपैयाँ फिरौती माग गरेको र रकम नदिएमा छोरा र श्रीमतीलाई अपहरण गरी मारिदिन्छु भन्ने धम्की दिने तीनजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा तिलोत्तमा १५ का १९ वर्षीय बिवेक गौतम, रुपन्देहीको सियारी गाउँपालिका १ का १९ वर्षीय अर्जुन सुनार र तिलोत्तमा १४ का २५ वर्षीय प्रकाश सुनार रहेका छन् ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिनु भयो ।

त्यसै गरी बाघको अवैध छालासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका १ का २५ वर्षीय आशिष सुनार, कास्की मादी गाँउपालिका ४ घर भइ पोखरा लेखनाथ १३ काहुँखोला बस्ने २५ वर्षका सुरज भुजेल र नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका १३ दलदले बस्ने २५ वर्षका बद्रि सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुटवल ८ बाट २ थान बाघको छालासहित उनिहरुलार्ई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्