अभियान चलाऔँ



फेरी कुरो मन्त्रीहरुको सम्पत्ति विवरणको । यो विषयमा जति चर्चा गरेपनि नसकिने । वर्तमान मन्त्री परिषद्का सबै सदस्य वामपन्थी छन् । कम्युनिजम स्कूलिङबाट दिक्षित भएका कम्रेड मन्त्रीहरु विपन्न र सर्वहाराको जिवन उत्थानबारे पुरै जानकार छन् ।

कम्रेडहरु पुँजीपतिहरुका सँधै कट्टर विरोधी । त्यही भएर अधिकांश कम्रेडहरुले पञ्चायतकाल र सशस्त्र द्धन्दकालमा जनवादी विवाह गरे । सामान्य ढंगमा विवाह गरेका कम्रेडहरुको जिवन शैली र घरबार शैली भने पत्याउँनै गाह्रो । मन्त्रीहरु धेरै जसो गरिव, उनका श्रीमतिहरु चाहिँ मनका भन्दा धनका असाध्यै धनी ।

जनवादी विवाह गर्दा पनि दाइजो चाहिँ निकै आउँदो रहेछ । घर, घडेरी मात्रै होइन, दाइजो बापतको सुन चाँदी पनि धेरै आउँदो रहेछ, तर कसरी, धरहराले बुझ्न सक्या छैन । बहुसंख्यक नेपाली आफ्नो विवाहमा ठूलो धन राशी खर्च गर्छन्, दाइजो पनि प्रसस्तै हुन्छ । तर ठूलो खर्च र तामझामको विवाहपछिको जिवनस्तरले खासै ठूलो छलाङ मार्या देखिन्न ।

त्यसैले छोटो अवधिमा धन सम्पत्तिमा छलाङ मार्न र जिवनस्तर सुधार्न आम नेपालीलाई जनवादी विवाहका लागि मन्त्री परिषद्ले प्रेरित गर्न ढिलो गर्नु हुँदैन । बरु देश व्यापी अभियान नै शुरु गर्ने कि ? आखिर सरकारले ‘समृद्ध नेपाल शुखी नेपाली’को नारा पनि त साकार गर्नु छ ।

प्रतिक्रिया दिनुहोस्