हरेक क्षेत्रमा सिन्डिकेट हाबी



सरकार भर्खरै सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेट तोड्न सफल भएको छ । अब सरकार बिस्तारै शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार, फलपूmल तथा तरकारी व्यवसायको क्षेत्रमा पनि सिन्डिकेट अन्त्य गर्ने अभियानमा छ । मुलुकका हरेक क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्य गरेरै छाड्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ । यसलाई आमसर्वसाधारणले सकारात्मकरूपमा लिएका छन् । यतिखेर केपी ओली नेतृत्वको सरकार बलियो भएकाले यसले मुलुकमा व्याप्त हरेक सिन्टिकेटको अन्त्य गरेरै छोड्नेछ भन्ने आशमा छन् जनता । तर यसका लागि सरकारमा सहभागी दल एवम् नेताहरूको सोच पनि सिन्डिकेटबाट मुक्त हुनै पर्छ । दलीय सोच र व्यवहार नै सिन्डिकेटमुक्त हुन सकेन भने अन्य क्षेत्रको सिन्डिकेट हटाउने अभियान केवल अभियानमै सीमित हुनेछ । त्यसैले सबै किसिमका सिन्डिकेट तोड्न सरकार कडारूपले प्रस्तुत हुनै पर्छ । साथै राजनीतिक दलहरूले सहयोग गर्नै पर्छ ।

हरेक क्षेत्रमा नजानिदो पारामा व्याप्त सिन्डिकेटका कारण सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नुपरेको छ । मुलुकमा केही अप्ठ्यारो अवस्था आएको समयमा उपभोक्ता झनै ठगिने गरेका छन् । त्यस अवस्थामा सिन्डिकेटले झनै प्रश्रय पाउने गरेको देखिन्छ । माग बढी हुने समयमा उपभोग्य वस्तु एवम् सेवा–सुविधामा हदैसम्म सिन्डिकेट भएको पाइन्छ ।

दशैँ–तिहारमा चिनी र खानेतेलमा सिन्डिकेट हुने गरेको सर्वविदित नै छ । खानेपानी, शिक्षा, स्वास्थ्य, तरकारी, दूधमा सधैँको सिन्डिकेट छ । कसैको घरमा धाराबाट आएको पानी अन्डरग्राउन्ड ट्यांकीमा ओभरफ्लो भएर गएको छ तर सँगैको अर्को घरमा ट्यांकरबाट पानी किनेर खानुपरेको छ । खानेपानीका कर्मचारीबाट सुनुवाइ नै हुँदैन । त्यस्तै एकातिर स्वदेशी दुग्ध उत्पादक किसानलाई ‘होलिडे मिल्क’ लगाइएको छ भने अर्कातिर विदेशबाट दुग्धपदार्थहरू आयात गरिने गरेको छ । यसै गरी स्वास्थ्य संस्था, स्कुल–कलेजमा पनि घुमाउरो सिन्डिकेटले सर्वसाधारण नराम्रोसँग ठगिने गरेका छन् । यी त भए केही उदाहरण मात्र, जता हेर्यो उतै भद्रगोल अवस्था छ ।

खुल्ला प्रतिस्पर्धालाई ठाडै चुनौती दिँदै सीमित क्षेत्र, समूह तथा वर्गको फाइदाका लागि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जतासुकै सिन्डिकेट हाबी भएको छ । विगतका सरकारहरू कमजोर भएकै कारण र दलका नेता–कार्यकर्ताहरू पनि भित्रीरूपमा सिन्डिकेटको पक्षमा भइदिनाले यो अवस्था आएको हो । तर अहिले मुलुकको परिस्थिति अर्कै भएको छ । सरकार बलियो भएको छ । सरकारको चाहना हुने हो भने अहिले गर्न नसक्ने केही देखिँदैन । सरकारले जनतालाई परिवर्तनको अनुभूति दिलाउन पनि मुलुकमा व्याप्त हरेक सिन्डिकेटको अन्त्य गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्