२६ वर्षपछि विश्वकपको शुरुवात



काठमाडौं, (नेस)
फिफा विश्वकप सन् २०३० मा उरुग्वेमा आयोजना भएर शुरुवात भएको थियो । विश्वकप शुरुवात गर्न अगाडि ओलम्पिकको विजेता टोली विश्व विजेताको रुपमा परिचित हुन्थ्यो । सन् १९२८ को ओलम्पिक फुटबलमा पनि उरुग्वे नै विजयी भएको थियो । दुई वर्षपछि विश्वकप आयोजना गरेको उरुग्वले विश्वकप जितेर पहिलो विश्व विजेता बन्न सफल भयो । तर यसको शुरुवात हुन भने २६ वर्ष लागेको थियो । सन् १९०४ मा फिफा (विश्व फुटबल महासंघ) को स्थापना भए पनि विश्वकप शुरुवात गर्न लामो समय खर्चेको थियो ।

उरुग्वे दक्षिण अमेरिकाको राष्ट्र भएकोले यो विश्वकपमा युरोपियन फुटबलका महारथी टोलीहरुले एक पछि अर्को समस्या देखाएर सहभागिता गरेन । युरोपबाट फ्रान्स, रोमानिया, युगोस्लाभिया र बेल्जियमले सहभागिता जनाउन पानीजहाजबाट यात्रा गरेका थिए । यही यात्रा खर्चिलो देखिएर त्यतिबेलाका बलिया टोलीहरु इंग्ल्यान्ड, जर्मनी, इटाली जस्ता राष्ट्रले सहभागिता जनाएको थिएन ।

प्रतियोगितामा युरोपका ४ सहित अमेरिकी महादेसका ९ गरी जम्मा १३ राष्ट्रले सहभागिता जनाएका थिए । उरुग्वेले पाहुना टोलीको यातायात, बस्ने, खाने देखि लिएर सबै कुराको खर्च बेहोरेको थियो । यहि कारणले पनि फिफाले इटाली, स्पेन, नेदरल्यान्डस् र स्विडेनको प्रस्ताव अस्विकार गरेर उरुग्वेलाई आयोजक छनोट गरिएको थियो । फ्रान्स, रोमानिया, युगोस्लाभिया र बेल्जियमले यात्राको क्रममा पानीजहाजमै फुटबलको अभ्यास गरेका थिए । तर लामो यात्रा थकाईको बावजुद युगोस्लाभियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यतिबेला पाँच पटकको विश्व विजेता ब्राजिल त्यति शसक्त देखिएको थिएन । ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो । दक्षिण अमेरिकीबाट उरुग्वे र अर्जेन्टिना फाइनलमा पुगेका थिए । सेमिफाइनल खेलमा उरुग्वे र अर्जेन्टिनाले क्रमशः युगोस्लाभिया र अमेरिकालाई समान ६–१ गोलअन्तरले हराएर फाइनलको यात्रा तय गरे । त्यतिबेला उरुग्वे ओलम्पिक विजेता थियो भने अर्जेन्टिना कोपा अमेरिका कपको विजेता थियो । फाइनल टक्करको हुने अनुमानित गरिए अनुसार दर्शक पनि त्यति नै संख्यामा उपस्थित भएका थिए । मोन्टेभिडियोको सेन्टेनारियोमा जुलाई ३० मा भएको फाइनल खेल हेर्न करिब ९० हजार दर्शकको उपस्थित रहेका थिए ।

अर्जेन्टिनाको खेल हेर्न पानी जहाज नै भाडामा लिएर अर्जेन्टिनी समर्थकले उरुग्वेमा यात्रा गरेका थिए । धेरै संख्यामा उपस्थित भएपनि रंगशालमा उरुग्वेका समर्थकको संख्या नै बढी रहेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिए पनि फाइनलमा अर्जेन्टिना पराजित भयो । उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोल अन्तरले हराएर पहिलो विश्वकप ट्रफी जित्न सफल भएको थियो । त्यतिबेला सो फाइनल खेलमा पहिलो हाफमा अर्जेन्टिनाले आफनो बलले र उरुग्वेले दोस्रो हाफमा आफनो बलले खेलेका थिए । दोस्रो हाफमा उरुग्वे हावी हुँदै तीन गोल गरेका थिए । जसमा सिया, इरिएट र कास्ट्रोले गोल गरेका थिए ।

विश्व कपमा पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुसियन लउरेन्ट (१९०७–२००५। उनले मेक्सिको विरुद्ध गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्