विराटनगर विमानस्थल विस्तारको काम अघि बढ्यो



नेपाल समाचारपत्र
विराटनगर
विराटनगर विमानस्थलले क्षेत्रीय विमानस्थलको अवधारणा स्वरूप विकास र विस्तारको कामलाई अघि बढाएको छ। विमानस्थलले धावनमार्गको पूर्वपट्टी रहेका आवास क्षेत्र र खेतीयोग्य जमिनको अतिग्रहणको प्रक्रियालाई अन्तिम रूप दिएको हो।

विमानस्थलले जग्गाको मुअब्जा तोकी जग्गा प्राप्ति ऐन २०३४ को दफा १८ अनुसार मुअब्जा बराबरको रकम लिन प्रभावित क्षेत्रका स्थानीयलाई सार्वजनिक सूचना जारी गरेको छ। विमानस्थलले पूर्वपट्टी नहरबाटोसँग जोडिएर पश्चिमतर्फ रहेका जग्गाहरुको बीच भागलाई केन्द्रविन्दू मानि त्यसपूर्वका जग्गालाई प्रतिकठ्ठा ८५ लाख रुपियाँ उपलब्ध गराउने जनाएको छ।

यस्तै त्यस पश्चिम रहेका जग्गालाई प्रतिकठ्ठा ७८ लाख र नहरबाटो र अन्य कुनै पनि बाटोलाई नछोएका जग्गाका लागि प्रतिकठ्ठा ६० लाख रुपियाँ मुअब्जा तोकेको विमानस्थल प्रमुख टेकनाथ सिटौलाले जानकारी दिनुभयो। मुअब्जाको रकममा भने स्थानीयले असन्तुष्टि जनाएका छन्। स्थानीयले खाली जग्गा र प्रतिजग्गालाई दिएको रकम असमानरूपमा आएको भन्दै त्यसलाई पुनरावलोक गर्न माग गरेका छन्। स्थानीय निकेश पोखरेलले खेती गर्ने जग्गालाई बाटो छेउ भनेर बढी र घडेरीका रूपमा प्रयोग गरिएको जग्गालाई कम मूल्याङ्न गरिनु गलत भएको बताउनुभयो।

निर्धारण गरेको मुअब्जाको रकमले मूल राजमार्गबाट अहिले बसोबास गरिरहेको दूरीमा त्यति नै जग्गा नआउने भन्दै स्थानीयले रकम समायोजन गर्न पनि आग्रह गरेको बताएका छन्। विमानस्थलले जग्गा प्राप्ति गर्दा स्थानीय दुई घरलाई भने अप्ठ्यारोमा पारिदिएको छ। विमानस्थलले घरमा रहेको गोठ, टयुबेलसमेत अधिग्रहणमा पारेर घरको मूल गारोदेखि २ इन्चमात्र छोडिदिने भएपछि विमानस्थलको तार जाली छेउमा बस्न नसकिने बताउनु हुन्छ स्थानीय तारा श्रेष्ठ। उहाँले आफूहरुको घर पनि लिन विमानस्थललाई आग्रह गर्नुभएको छ।

त्यस्तै समस्या अर्की स्थानीय लक्ष्मी नेपालको पनि रहेको छ। नेपालको त गाईको गोठ र शौचालय नै विमानस्थलले लिने भनिएको जमिनतर्फ परेको छ। उहाँले शौचालय, पानीको टयुबेल नै अब नरहेपछि कसरी बस्ने भनी दुखेसो पोख्नुभयो। विमानस्थलले जग्गा लिएपछि घारी हुने र घरमा सर्पलगायतको जोखिम हुने भन्दै आफूहरुलाई पनि उठाइदिन आग्रह गर्नुभयो।

यता विमानस्थल प्रशासनले भने अहिले विद्यमान विमानस्थलको घेराबेराको सिधामात्र जग्गा अधिग्रहण गरिने सूचना जारी भएको भन्दै थप निर्णयका लागि केन्द्रबाट नै अनुमति आउनुपर्ने बताएको छ। जग्गा प्राप्तिको काम अघि बढेसँगै अब घरको मुअब्जा पनि चाडै तोकिने विमानस्थल प्रशासनले जनाएको छ। विमानस्थलको विस्तारको क्रममा त्यहाँका दुई दर्जन बढी घरपरिवार विस्थापित हुनेछन।

प्रतिक्रिया दिनुहोस्