अमेरिकी नियोगमा असामान्य आवाज र प्रकाशको आतंक



वासिङ्टन, (एजेन्सी)
अमेरिकी विदेश मन्त्रालयले चीनमा आफ्ना कर्मचारी तथा नागरिकलाई असामान्य आवाज तथा प्रकाशलाई लिएर सतर्क रहन आग्रह गरेको छ।

एक कर्मचारीको रहस्यमय स्थितिपछि विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो। ती व्यक्तिले तिखो र संदिग्ध तर असामान्य कौतुहलता जगाउने आवाज र दबाबको अनुभव गरेको गुनासो गरेका थिए।
अमेरिकी विदेश मन्त्रालय माइक पोम्पियोले चिकित्सकीय दृष्टिकोणले यो क्युबास्थित अमेरिकी दूतावासमा कर्मचारीले सामना गर्नुपरेको घटनासँग समान भएको बताए। चीन र अमेरिकाको सम्बन्ध हालैका दिनमा खराब स्थितिबाट गुज्रिरहेको छ। दुवै देशबीच ब्यापार युद्धको स्थिति रहेको छ। विदेश मन्त्रालयले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाएको छ। यद्यपि अमेरिकाले यसका लागि चीनमाथि कुनै आरोप भने लगाएको छैन।

अमेरिकी दूतावासका प्रवक्ता जिनी लीले कर्मचारीले ग्वाङझाउ शहरमा सन् २०१७ को अन्त्यतिर र सन् २०१८ अप्रिलको बीचमा विभिन्न शारीरिक विकृतिको सामना गर्नुपरेको बताएका छन्। त्यसपछि अमेरिकी कर्मचारीलाई अमेरिका पठाइएको थियो। मे १८ मा अमेरिकी दूतावासलाई कर्मचारी मस्तिष्कको चोटबाट पीडित रहेको थाहा भएको थियो।
तर अहिलेसम्म त्यसको कारण भन्ने थाहा हुन नसकेको लीले बताए। राजनीतिक परिसरबाहिर चीनमा अन्य ठाउँमा यस्तो स्थितिका बारेमा अहिलेसम्म कुनै जानकारी नभएको उनले थपे। अमेरिकी सरकारले यसलाई गम्भीरतापूर्वक लिएको र चीनका अधिकारीलाई यस विषयमा सूचित गरिसकेको उनले जानकारी दिए। लीले भने– ‘हामीले नागरिकलाई संदिग्ध आवाज वा प्रकाशको सामना गर्नुपरेमा त्यसतर्फ जाने प्रयास नगर्न र आवाज नसुन्नेतर्फ जान भनेका छौं।’ चीनले त्यसको जाँच गर्ने कुराको आश्वस्त पारेको पनि लीले बताए।

यस प्रकारको संंदिग्ध घटना क्युबाको राजधानी हवानामा अमेरिकी राजनीतिज्ञहरूमा थिए। त्यतिबेला यसलाई सोनिक हमला भएको बताइएको थियो। विदेशमन्त्री पोम्पियोले हाउस अफ रिप्रिजेन्टेटिभ्सको विदेश मामिला समितिसमक्ष मेडिकल जाँचबाट यो पनि क्युबाको सोनिक हमलाजस्तै भएको बयान दिएका थिए। उनले घटनाको जाँचका लागि मेडिकल टोलीलाई पठाइसकेको बताए। पोम्पियोले भने– ‘हामी क्युबा र चीन दुवै स्थानमा सत्यतर्फ पुग्ने प्रयास भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्