छात्राको जबरजस्ती गर्भपतन



रोम, (एजेन्सी)
आफ्नो अभिभावकले फकाएर पाकिस्तानस्थित घरमा लगेर गर्भपतन गराउन लागेको गुनासो गर्दै एकजना छात्रा इटाली फर्केकी छिन्। इटालीको भेरोनामा अध्ययनरत १९ वर्षीया फराह केही महिनाअघि गर्भवती बनेकी थिइन्।

उनको परिवारले गत फेब्रुअरीमा उनलाई पाकिस्तान लिएर गएको थियो। पछि उनले आफ्नो इच्छा विपरीत आफूलाई गर्भपतन गराउन बाध्य पारिएको भन्दै साथीहरूसँग मदतका लागि गुहारेकी थिइन्।

गत साता मात्र उनलाई पाकिस्तानी प्रहरीले राजधानी इस्लामावादबाट उद्धार गरेको थियो। उनले थुप्रै दिन इस्लामावादस्थित इटालियन राजदूतको निवाससमा सरण लिएकी थिइन्। उनी बिहीबार मिलानको माल्पेन्सा विमानस्थलमा आइपुगेकी हुन्। इटालियन सञ्चार माध्यमलाई उनले भनेकी छिन्– ‘मलाई मेरो परिवारले पलङमा बाँधेर जबरजस्ती गर्भपतन गराएको थियो।’

केही साताअघि मात्र पाकिस्तानमा एकजना इटालियन महिलाको मृत्यु भएको खबर बाहिर आएको थियो। उनलाई आफ्नै आफन्तहरूले प्रतिष्ठाका लागि हत्या गरेको हुनुपर्ने अनुमान गरिएको थियो।

भेरोनादेखि पश्चिममा पर्ने ब्रेसियास्थित २६ वर्षीया साना छिमाका साथीहरूले उनले परिवारको विरोधको बाबजुद एकजना पाकस्तिानी–इटालियन पुरुषसँग विवाह गर्न चाहेको बताएका थिए।

इटालियन विदेशमन्त्री एन्जेलिनो अल्फानोले अन्ततः इटालीमा आइपुगेकी फराह अहिले पूर्णत सुरक्षित रहेको बताएकी छिन्। उनले फराहलाई सुरक्षित ढंगले इटालीसम्म पुयाए बापत पाकिस्तान सरकारको पनि प्रशंसा गरेकी छिन्। इटालियन सरकारका अनुसार फराहका परिवार सन् २००८ मा भेरोनामा बसाइँ सरेको थियो। फराहले सामाजिक सञ्जालमार्फत मदतका लागि गुहारेको कारण उनको उद्धार कार्य सम्भव भएको पाकिस्तानी सरकारी निकायले जनाएको छ। मुस्लिम राष्ट्र पाकिस्तानमा अहिले पनि महिलाहरू मानव अधिकारबाट वञ्चित रहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्