गिलगित–बाल्टिस्तान नागरिकलाई थप अधिकार



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको मन्त्रिमण्डलले पाकिस्तान प्रशासित काश्मिरको गिलगित–बाल्टिस्तानका नागरिकलाई देशका अन्य ४ प्रान्तका नागरिकसरह समान अधिकार दिने निर्णय गरेको छ। यसलाई नयाँ सुधारवादी प्याकेजका रूपमा शक्ति हस्तान्तरणसँगै हुने जनाइएको छ।

प्रधानमन्त्री साहिद खाकान अब्बासीको अध्यक्षतामा बसेको क्याबिनेटस्तरको बैठकले उक्त फैसला लिएको हो। यस निर्णयलाई पाकिस्तान सरकारको विवादित क्षेत्र पाँचौं प्रान्तको मान्यता दिने दिशामा भइरहेको प्रयासका रूपमा हेरिएको छ।

पाकिस्तानले आफ्नो कब्जामा रहेको काश्मिरलाई दुई प्रशासनिक भाग, गिलगित–बाल्टिस्तान र पाकिस्तानको अधीनस्थ काश्मिरमा विभाजन गरी राखेको छ। पाकिस्तान गिलगित–बाल्टिस्तानलाई अब एक अलग्गै भौगोलिक एकाइका रूपमा हेर्ने गरेको छ। बलुचिस्तान, खैबर–पख्तुनख्वा, पन्जाब र सिन्ध पाकिस्तानका ४ प्रान्त हुन्। ‘मन्त्रिमण्डलले गिलगित–बाल्टिस्तानको सरकारलाई थप प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरणसँगै त्यहाँका नागरिकलाई पनि अन्य प्रान्तका नागरिकलाई दिँदै आएका सबै अधिकार दिइनेछ।’ –बैठकपछि जारी एक आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्