बैठकमै नबसी दुई हजार भत्ता !



काठमाडौं, (नेस)
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन्। बिहीबारको संसद् बैठकमा पनि यस्तै दृश्य देखियो। हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरैजसो कुर्सी खाली देखिन्थ्यो। ख्याल रहोस्, हाजिर भएपछि सांसदहरूले बैठक भत्ता र यातायात सुविधाबापत १÷१ हजार गरी दुई हजार रुपियाँ पाउँछन्।

नेपाल कम्युनिस्ट पार्टीका कैलाली–२ बाट निर्वाचित सांसद झपटबहादुर रावल संसदीय गतिविधिमा संलग्न रहनु सांसदको दायित्व भएको बताउनुहुन्छ। ‘संसद्भित्र के हुँदै छ, त्यसबारे हामीले जानकारी लिइरहनुपर्छ, बीचैमा छोडेर हिँड्नु राम्रो होइन।’ –रावलको भनाइ छ।

यसैबीच संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट शुरू भएको छलफल बिहीबार पनि सकिएन। नेकपाका सांसद देवप्रसाद गुरुङले बोल्नका लागि नाम लेखाएका सांसदको बोल्ने क्रम सकिए शुक्रबार नै छलफल सकिने बताउनुभयो। नीति तथा कार्यक्रम सत्तापक्षले प्रभावकारी भनेको छ तर विपक्षी दलका सांसदहरूले त्यसप्रति फरक मत राखेका छन्। सरकारले आगामी मंगलबार आर्थिक वर्ष ०७५÷०७६ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्