भारतको तामिल नाडुमा के भयो यस्तो ?



टुटिकोरिन । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ ।

वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कर्फर्यू आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ ।

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । स्थानीय नागरिकले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ ।

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धी समस्या आएको बताएका छन् ।

उनीहरूले अस्पताल भर्ना भै उपचार गराउनु पर्ने सम्मको प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने माग गरेका छन् ।

विगत तीन महिनादेखि जारी आन्दोलनमा विगत केही दिनदेखि जनसहभागीता एकाएक बढेर स्थिति असामान्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्