भरतपुरमा ‘स्काई रेल’ सञ्चालन गर्न छलफल



चितवन,। भरतपुर महानगरपालिकामा ‘स्काई रेल’ संचालनका लागी पहल सुरु गरिएको छ । भरतपुर महानगरमा ‘स्काई रेल’ संचालन गर्न बिहिबार काठमाडौंमा चीनको चाइना न्यू इनर्जी स्काई रेल गु्रपसंग छलफल गरिएको छ । भौतिक योजना मन्त्री रघुबीर माहासेठ,नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेब गौतम,चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य केशबलाल श्रेष्ठ लगाएतको टोलीले सो कम्पनीसंग छलफल गरेको हो । छलफलबाट चिनिया कम्पनी भरतपुरमा स्काई रेल संचालन गर्न सकरात्मक भएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए । एकसाता भित्रै सो कम्पनीले भरतपुरमा स्काई रेल संचालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उनले बताए । भरतपुर महानगरपालिका भित्र सोलारबाट चल्ने स्काई रेल संचालनका लागी तिब्रताका साथ काम गरिने पोखरेलले बताए । भरतपुर महानगर भित्रको रिङरोडमा ‘स्काई रेल’ सञ्चालन गर्न सकिने उनको भनाई छ ।
‘कुनकुन ठाउँमा मोनो रेलले सुविधा दिन सक्छ, कति खर्च लाग्छ ती सबैको अध्ययन गरेपछि थाहा हुनेछ,’ सांसद पोखरेलले भने, ‘यसले प्रदूषण पनि कम हुनेछ भने साना सवारी साधन स्वतः विस्थापित हुनेछन् ।’ ट्राफिक समस्या समाधानका लागी पनि स्काई रेल निकै उपयोगी हुने पोखरेलले बताए ।
चिनिया कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । ‘मेट्रो रेल’को तुलनामा ‘स्काई रेल’ सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्छ ।
स्काई रेलमा तीन वटा डिब्बा मात्र राख्न सकिने भए पनि सामान्यतया एउटा रेलमा आठ वटासम्म डिब्बा राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २०० यात्रु अट्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्