पर्यटकीय क्षेत्र कमल दहको संरक्षण गरिने



धनवीर दाहाल
रुकुमकोट । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नं. ५ रुकुमकोटमा रहेको कमल दहको संरक्षण थालिएको छ । दहको उचित संरक्षण र व्यवस्थापन नहुँदा कमल दहमा पशु चौपायाको मात्र रजाई हुन थालेपछि सिस्ने गाँउपालिकाले संरक्षणको लागी काम थालेको हो । कमल दहलाई नेपालकै एक प्रसिद्ध पर्यटकिय स्थलको रुपमा लिने गरिन्छ । समुद्री सतहबाट १५ सय ८१ मिटरको उचाईमा पर्ने यो दहको गहिराई ३५ मिटर रहेको छ । झण्डै २ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको कमल दहमा वर्षैपिच्छे आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो लाग्ने गर्दछ । यतिबेला कमलदहको संरक्षणका लागी दहको वरीपरी पर्खालहरु निर्माण गर्ने तथा प्रतिक्षालयको व्यवस्था गर्न लागिएको हो । लामो समयदेखी संरक्षणको पर्खाइमा रहेको यस कमल दहलाई ढिलै भएपनि संरक्षणका लागी काम थालिएकोमा स्थानीय खुसी भएका छन् । संरक्षणका लागी भइरहेका भौतिक निर्माणको काम छिट्टै सक्ने उद्देश्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । भवन डिभिजन कार्यालयका इन्जीनियर कमल के.सीले ताल संरक्षणका लागी काम तिब्र गतिमा भइरहेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटनका लागि कमल दहको संरक्षण र विकास गर्नुपर्ने भन्दै विभिन्न निकायले पटक–पटक थुप्रै अभ्यासहरु संचालन गरेका थिए । ति अभ्यासहरुले प्रगतियुक्त काम नगरेपछि पछिल्लो पटक सिस्ने गाँउपालिकाले संरक्षणका लागी काम थालेको छ । तर संरक्षण गर्ने नाममा दहको वरीपरीको जमिन कटान गर्नुले कुनै बेला दह पुरिन सक्ने तर्फ पनि ध्यान पुर्याउन आबश्यक रहेको स्थानीयको भनाई छ । मल दहको कञ्चनजल र पानी माथि तैरिएका कमलका पातहरुले मोहनी लगाउने भएकै कारण कमल दह हेर्न आउने प्रायजसो पर्यटकहरुले कमलको जरा र फलहरु किनेर लिने गर्दछन् । खासगरेर कमलको जरा र फलको सेवन गर्नाले जन्डिस तथा अन्य रोगहरु पनि निको हुने विश्वास गरिन्छ । स्थानीय रुद्र बहादुर हमालले रोल्पा, डोल्पा, जाजरकोट लगाएतका जिल्लाबाट कमलको जरा लिनको लागी मान्छेहरु आउने बताए । सिस्ने गाँउपालिकाकी अध्यक्ष कुमारी बरालले तालको संरक्षणको लागी हाल ५ लाख छुट्याइएको र आगामी दिनमा पनि पहल गरिने बताइन् । कमल दह त एउटा ज्वलन्त उदाहरण मात्र हो । रुकुम पुर्व र रुकुम पश्चिम जिल्लामा रहेका थुप्रै तालतलैया र ऐतिहासिक मान्यता बोकेका पर्यटकिय स्थलहरुको संरक्षणमा भने कुनै उल्लेख्य प्रगति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्