मानव–वन्यजन्तु द्धन्द्धले ९ महिनामा १० मानिस मारिए



 

काठमाडौँ ।वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जमा चार, कोशीटप्पु वन्यजन्तु आरक्षमा चार र चितवन राष्ट्रिय निकुञ्जमा दुई जना मानिसको ज्यान गएको थियो ।

यस अवधिमा वन्यजन्तुको आक्रमणमा परी ३३ जना मानिस घाइते भएका र यही कारणले विभिन्न प्रजातिका १९३ वन्यजन्तु मारिएका विभागका अनुसन्धान अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो ।

विभागको तथ्याँकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वको कारण २२ जना मानिसको मृत्यु भएको थियो भने अन्य ४३ जना घाइते भएका थिए ।

यस अवधिमा मानव वन्यजन्तु द्वन्द्वका कारण विभिन्न प्रजातिका ३२६ वन्यजन्तु मारिए भने २७१ घरगोठ, २७७ पशुधन र १७१ स्थानमा अन्नबाली नोक्सान भयो । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जंगली ब्वाँसो, हिमाली कालो भालु, हिउँ चितुवाजस्ता वन्यजन्तुबाट संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको पाइन्छ । यसबाट वन्य जन्तुका अतिरिक्त निकुञ्ज र आरक्ष वरिपरि बसोबास गर्ने समुदायको कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षति वृद्धि हुँदै गएको फलस्वरुप क्षतिपूर्ति भुक्तानीमा समेत वृद्धि भएको छ ।

साथै, तस्करले वन्यजन्तुको शिकार गरी विदेश लैजाने क्रम पनि रोकिएको छैन । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी २०७४ सालको तथ्याँक हेर्दा काठमाडौँमा मात्रै रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् ।

नेपालका ओलाङचुङ्गगोला, किमाथान्का, लामाबगर, मनास्लु, रसुवागढी, टिमुरे, माथिल्लो मुस्ताङ, तातोपानी, हुम्ला, डोल्पा, बाजुरा, दार्चुला, टिंकर, काँकडभिट्टा, विराटनगर, हरिपुर, वीरगञ्ज र महेन्द्रनगरबाट वन्यजन्तुका आखेटोपहारको अवैध रुपमा भारत र चीनतर्फ व्यापार हुने गरेको छ ।

सरकारले मानव–वन्यजन्तु द्वन्द्वमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख र घाइतेको उपचारका लागि आवश्यक खर्चसमेत प्रदान गर्ने गरेको छ । पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा हात्तीको आक्रमण बढेको विभागले जनाएको छ ।

विभागले मानव–वन्यजन्तु द्वन्द्वलाई न्यून गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना– २०७५’ मा पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बहन क्षमताका आधारमा व्यवस्थापन, राहत वितरणमा प्रभावकारिता र समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनमा प्रभावकारिता ल्याइने महानिर्देशक खड्काले बताउनुभयो ।

यस कार्यका लागि विभागले संरक्षण शिक्षाको विस्तार, विद्युतीय तारबार, पूर्वसूचना दिने प्रणालीको विकास, सातै प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना र वन्यजन्तुले मन नपराउने खेतीलाई प्रोत्साहन दिने नीति लिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्