मनाङका सामुदायिक बिद्यालय धमाधम आवासीय बन्दै



 

मनाङ,। गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो ।

विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो ।

हिमाली जिल्ला भएकाले यहाँका विद्यालयमा विद्यार्थीको संख्या कम हुनु र भौगोलिक विकटताले विद्यार्थीलाई विद्यालयसम्म आउन जान समस्या भएकाले पनि आवासीय विद्यालयको आवश्यकता रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो ।

चामे गाउँपालिकाअन्तर्गत रहेको लोकप्रिय मावि आवाशीय विद्यालय भइ सकेको छ ।

अरु तीन विद्यालय निस्याङ गाउँपालिकाअन्तर्गत रहेको अन्नपूर्ण मावि नाँसो गाउँपालिकाअन्तर्गत रहेका प्रकाश ज्योति र भनु मावि तयारीमा रहेको शिक्षा समन्वय एकाइले जानकारी दिएको छ ।

यस जिल्लामा रहेका केही विद्यालय विद्यार्थीविहीन भएको र विद्यालयलाई आवासीय बनाएर भौगोलिक विकटताबाट विद्यालय पहुँच नपुगेको अवस्थामा आवासीय विद्यालयले टेवा पु¥याउने हेतुले विद्यालयलाई आवासीय अवधारणा ल्याइएको शिक्षा समन्वयन एकाइले बताएको छ ।

कुनै ठाउँमा विद्यार्थी नहुने त कुनै ठाउँमा शिक्षकको अभाव भएकाले विद्यालय मर्ज गरी आवासीय बनाउँदा दुवै समस्याको समाधान हुने हुँदा यसको अवधारणा बनाई अगाडि बढेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

शिक्षा क्षेत्रमा मनाङको चारवटै गाउँपालिकामा आमूल परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आवासीय विद्यालयको अवधारणालाई अगाडि बढाएको शिक्षा समन्वयन एकाइ मनाङले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्