भक्तपुर नगरपालिको कमाइ दश महिनामा एकानब्बे करोड



भक्तपुर, । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।

यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि रु ४१ करोड खर्च गर्ने भएको छ ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा रु छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म रु तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि रु छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास निर्माणतर्फ रु ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ ।

गत आवमा आन्तरिक आयतर्फ रु २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी रु २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्