प्रदूषण नघटाई धमाधम खुलाए बेवास्ता गर्दै ढुंगा–गिट्टी उद्योग



ललितपुर । काठमाडौँ उपत्यकामा रहेका अधिकांश ढुंगा–गिट्टी उद्योगले प्रदूषण कम गर्ने कुरामा ध्यान दिएका छैनन् ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि गर्छु भनेका कुरा कार्यान्वयन नगरेको पाइएको वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए । विभागले नियमितरुपमा उद्योगहरुमा प्रदूषणको अवस्था बुझ्नका लागि अनुगमन गरिरहेको छ ।

उनी भन्छन् , “अनुगमनका क्रममा यी उद्योगले कुनै पनि खालको सावधानी अवलम्बन नगरेको पाइएको हो ।” ईआइए प्रतिवेदनमा उद्योगले गर्नसक्ने प्रदूषणको अनुमान गर्दै नियन्त्रण गर्ने उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन्छन् ।

धुलो नउडोस् भनेर दैनिक पानी छर्कने, वरपर ढाक्ने गरेर पर्खाल लगाउनेदेखि प्रदूषण नियन्त्रण गर्ने उपकरणको जडानसमेत पर्छ । उद्योग आफैँले पनि स्व–अनुगमन गरेर सम्बन्धित निकायमा प्रतिवेदन बुझाउनुपर्छ । उनी भन्छन, “तर अधिकांशले स्व–अनुगमन गरेको पाइँदैन ।”

नियमित कार्यक्रमअनुसार विभागले उद्योगको अनुगमन गर्दै आएको छ । स्थानीय निकायमा वातावरण प्रदूषणसम्बन्धी मुद्दा आइरहेका हुन्छन् । तिनै उजुरीका आधारमा पनि अनुगमन गरेर कारबाहीको सिफारिश हुने गरेको विभागले जनाएको छ ।

वातावरण प्रदूषण बढाएको भन्दै केही वर्ष पहिलेदेखि बन्द उद्योग अहिले स्थानीय निकायले धमाधम खुलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्