सेवा प्रभावकारी बनाउन जनप्रतिनिधिलाई तालीम



दार्चुला । स्थानीय तहबाट जनतालाई प्रदान गरिने सबै किसिमका सेवालाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, दार्चुलाले जनप्रतिनिधिलाई तालीम दिइरहेको छ ।

स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन, नियम र कानूनका बारेमा उनीहरुलाई जानकारी दिई दक्ष बनाउन तालीम दिइरहेको समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले जानकारी दिनुभयो ।

समन्वय समितिले यसअघि जिल्लाको शैल्यशिखर नगरपालिकाभरि रहेका वडासदस्य, अध्यक्ष, वडा सचिव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र नगर उपप्रमुखलाई उक्त तालीम दिइसकेको जनाएको छ । यस्तै, बुधबारदेखि महाकाली नगरपालिकाका जनप्रतिनिधिलाई समेत तालीम दिइएको जनाइएको छ ।

महाकाली नगरपालिकाका नौवटै वडाका वडाध्यक्ष, सदस्य, वडा सचिव नगर प्रमुख, नगर उपप्रमुख कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलगायत ६२ जनाको सहभागिता रहेको समन्वय प्रमुख कार्कीले जानकारी दिनुभयो । स्थानीय शासन सञ्चालनसम्बन्धी तालीमका माध्यमबाट जानकारी गराइरहेको जनाइएको छ । तालीम तीन दिनसम्म सञ्चालन हुनेछ ।

यो तालीम जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीलाई समेत दिलाइने समन्वय समिति प्रमुख कार्कीले जानकारी दिनुभयो । तालीमले जनतालाई प्रदान गरिने सेवामा केही सहजता र छिटोछरितोपन ल्याउन मद्दत गर्ने उहाँले जानकारी दिनुभयो ।

तीनदिने तालीमको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । तालीमपश्चात स्थानीय तहले जनतालाई प्रदान गर्ने सबै किसिमका सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रक, समन्वय अधिकारीले प्रशिक्षण दिईरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्