चेन्नई आईपीएलको फाइनलमा



नयाँ दिल्ली, (एजेन्सी)
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

आईपीएलको ११औं संस्करणको मंगलबार भएको हार्न लागेको खेलमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराएर चेन्नई फाइनलमा पुगेको हो। चेन्नईले सातांै पटक आईपीएल फाइनल खेल्दै छ। मुम्बईको वानेडे स्टेडियममा टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो। कप्तान महेन्द्र सिंह धोनीको निर्णय सही भयो जब उनका बलरले हैदराबादलाई १ सय ३९ रनमा समेटेका थिए।

तर १ सय ४० रनको साधारण लक्ष्यमा उत्रेको चेन्नईले लगातार ८ विकेट गुमाउँदा जितको आशा समाप्त भइसकेको थियो। तर फाफ डु प्लेसिस र शार्दुल ठाकुरले नवौं विकेटका लागि विस्फोटक ब्याटिङ गरेपछि चेन्नईको फाइनल पक्का भएको थियो।

जितका लागि पाएको १ सय ४० रनको लक्ष्य चेन्नईले ५ बल बाँकी राखि ८ विकेटको क्षतिमा हासिल गरेको थियो। रोमाञ्चक जित दिलाएका डू प्लेसिस ६७ रनमा र ठाकुर १५ रनमा नटआउट रहेका थिए। डू प्लेसिसलाई सानदार ब्याटिङ गरेकोले म्यान अफ द म्याच छनोट गरिएको थियो। हैदराबादले हारे पनि आज हुने दोस्रो क्वालिफायर खेलका विजेतासँग खेलेर फाइनल पुग्ने मौका बाँकी छ। यो खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच हुनेछ।

यसअघि हैदराबादका फास्ट बलर भुवनेश्वर कुमारले टोलीलाई सानदार शुरूआत दिलाएका थिए। उनले शेन वाटसनलाई शून्यमा आउट गरेका थिए। २२ रनमा सुरेश रैनालाई सिद्धार्थ कौलले बोल्ड गरे। त्यसपछि टोलीका भरोसामन्द ब्याट्सम्यान अंबाती रायडूलाई पनि कौलले खाता खोल्न अगाडि नै बोल्ड गरे। कप्तान धोनी पनि ९ रनमा रशिद खानको बलमा बोल्ड भएका थिए। ड्वायन ब्राभोलाई पनि खानले आफ्नो शिकार बनाए। उनले ७ रनमा पबेलियन फर्कनुपरेको थियो।

शीर्ष खेलाडीको लगातार पबेलियन फर्केपछि हैदराबादले खेलमा नियन्त्रण बनाएको थियो। त्यसमाथि रविन्द्र जडेजा (३), दिपक चहर (१०), हरभजन सिंह (२) पनि सस्तैमा आउट हुँदा हैदराबादले फाइनल पुग्ने तय गरिसकेको थियो। तर ओपनर ब्याटसम्यान डु प्लेसिसलाई ठाकुरले अर्को इन्डबाट साथ दिँदा हैदराबादका लागि अर्को क्वालिफायर खेल्न बाध्य बनायो। हैदराबादका बलरमा खान, कौल र सन्दीप शर्माले २–२ विकेट लिएका थिए।

हैदराबादले ब्याटिङमा ओपनर शिखर धवन चहरको बलमा बोल्ड भएपछि खराब शुरूवात गरेको थियो। शिखरले रन बनाउन सकेनन्। श्रीवत्स गोस्वामीलाई लुंगी नगीडीले आउट गरेर चेन्नईलाई दोस्रो सफलता दिलाए। गोस्वामीले १२ रन जोडेका थिए। अघिल्ला खेलमा सानदार प्रदर्शन गरेका कप्तान केन विलियमसनलाई ठाकुरले चल्न दिएनन्। विलियमसनले २४ रन बनाए भने शकिब अल हसन पनि मात्र २४ रनमै पबेलियन फर्केका थिए। उनलाई ब्राभोले आउट गरेका थिए। मनिष पाण्डेले ८ रन, युसुफ पठानले २४ रन र कार्लोस ब्राथवेटले नटआउट हुँदै २९ रन बनाएका थिए। चेन्नईका बलरमा ब्राभोले दुई विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्