गणेशमानले शुरू गरेको विमानस्थल पुनः सञ्चालनमा आउने



दीपेन्द्र थापा, काठमाडौं
बन्द रहँदै आएको मुलुककै पुरानो सप्तरीको राजविराज विमानस्थल स्तरोन्नतिपछि नियमित सञ्चालनमा आउने भएको छ। बिहीबार विमानस्थल औपचारिक शुरूआत हुने भएको छ। रनवेको कालोपत्रे गर्ने काम सकिएपछि साइडको मर्मत कार्य पूरा भईपछि विमानस्थल पूर्ण सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘अहिले १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवेको कालोपत्रे गर्ने काम सकिएको छ, विमानस्थलको सम्पूर्ण काम सकिएसँगै सञ्चालनमा आउँछ।’ विमानस्थल पुनर्निर्माण परियोजना प्रमुख रामएकवाल महतोले बताउनुभयो। समुन्द्र सतहबाट २ सय ४३ फिट उचाइमा रहेको विमानस्थल २ सय ८० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको छ। यो विमानस्थल पहिलोपटक २० फेब्रुअरी १९६० मा तत्कालीन याततायात मन्त्री गण्ोशमान सिंहले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो। तर, विभिन्न कारणले २०६० सालदेखि विमानस्थल बन्द रहेको थियो।

कन्ट्रोल टावर मर्मत तथा रङरोगन गरी उडान र अवतरणका लागि विमानस्थल योग्य बनाइएको छ। हाललाई पुरानै कन्ट्रोल टावर र भएको संरचनाबाट नै विमानस्थल सञ्चालन हुने र एक वर्षभित्र नयाँ निर्माण कार्य पूरा हुने गरी काम थालिसकेको प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्ययले बताउनुभयो। उहाँले भन्नुभयो– ‘टेन्डरको काम शुरू भइसकेको अब आगामी वर्षमा २ देखि ३ करोडको लागतमा नयाँ टर्मिनल र टावर बाँकी संरचना बन्नेछ।’

विमानस्थलको धावनमार्ग रनवे पूर्व–पश्चिम दिशामा अवस्थित रहेको छ। विमान पूर्वबाट उडान र अवतरण गर्दा इँट्टा भट्टाको चिम्नीका साथै विद्युतीय पोलले अवरोध रहेको र पश्चिमबाट उडान अवतरण गर्नका लागि घर टहरा रहेकाले त्यसलाई हटाउनुपर्ने इन्जिनियर पुष्प न्यौपानेले बताउनुभयो। यसबारे सम्बन्धित निकायसँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। ४१ सिट विमान उडान अवतरण गर्न भने निर्माण सम्पन्न भएपछि सम्भव हुनेछ।

उक्त विमानस्थलमा एटीआर–७२ विमान अवतरण गर्न भने केही अवरोध रहेको प्राधिकरणको भनाइ रहेको छ। विमानस्थल भीएफआर (भिजुवल फाइट रुट) सञ्चालनमा आउनेछ। ५ हजार मिटरसम्म भिजिबिलिटी स्पष्टसँग देखिने हुनुपर्छ। विमानस्थलको सुधार कार्य गत वर्ष शुरू भए पनि मंसिरमा स्तरोन्नति कार्य सम्पन्न हुनुपर्ने थियो। चाडबाड र चुनावी कारणले ढिला हुँदै आएर हाल आयोजनाले पूर्णता पाएको हो। ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपियाँमा २०७४ मंसिरसम्म निर्माण सकिने गरी रमन–कान्छाराम–देव एन्ड सयर कम्पनीले साझेदारीमा सम्झौता भएको थियो। कम्पनीले भने दुई महिनापछि काम शुरू गरेको थियो।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले कात्तिक १६ गतेभित्र उडान सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। प्राधिकरणले भने तराई बन्द र बाढीको क्षतिका कारण निर्माण कार्यले गति लिन नसक्दा सो समयभित्र सञ्चालनमा ल्याउन नसकेको जनाएको थियो।

विमानस्थलको कुल ४ सय ३५ रोपनी जग्गा रहेको छ। बुधबार श्री एयरलाइन्सको सीआरजे २०० ले परीक्षण उडान गरेको छ। ‘हामीले परीक्षण उडान सम्पन्न गरेका छांै विभागीय मन्त्री र प्राधिकरणले बिहीबार उडान गरेको १५ दिनपछिी नियमित उडान गर्ने योजनामा।’ श्री एयरलाइन्सका मेनेजर अनिल मान्नधरले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्