गुणस्तरीय काठ उत्पादनका लागि प्लान्ट सञ्चालन हुँदै



टीका बन्धन, काठमाडौं

काठको गुणस्तर र दिगोपन सुनिश्चित गरेर बजारमा काठ उपलब्ध गराउन ‘सिजनिङ एन्ड ट्रिटमेन्ट प्लान्ट’ सञ्चालन हुने भएको छ। सबै प्रजातिका काठको गुणस्तर र दिगोपन बढाउन यस्तो प्लान्ट उपयोगी हुने बताइएको छ।

बांगिने काठलाई सुधार गर्दै काठमा रहने पानीको मात्रा र चिसोपन हटाउन सिजनिङ प्लान्ट प्रयोग हुनेछ भने ट्रिटमेन्ट प्लान्टले काठमा लाग्ने धुलिया र किरा नियन्त्रणसँगै दिगोपन बढाउन सहयोग गर्ने बताइएको छ। दी टिम्बर कर्पोरेसन अफ नेपालले चितवनको भरतपुरमा २ करोड ६० लाखको लागतमा यस्तो प्लान्ट सञ्चालन गर्ने तयारी गरेको हो।

कर्पोरेसनको स्वामित्वमा रहेको जग्गा र पुरानो स–मिल परिसरमा प्लान्ट सञ्चालन हुने भएकाले तत्काल ठूलो बजेट आवश्यक नभएको बताइएको छ। वार्षिक १ लाख २० हजार सीएफटी चिरान काठ सिजनिङ र योभन्दा झन्डै दोब्बर क्षमतामा काठ ट्रिटमेन्ट गर्ने लक्ष्य लिइएको छ। यो क्षमताको दुवैथरी प्लान्ट मुलुकभित्रैको पहिलो भएको दाबी गरिएको छ। यही महिनाभित्रैमा दुवैथरी प्लान्टको परीक्षण हुने बताउँदै कर्पोरेसनका महाप्रबन्धक राजु लौडारीले भन्नुभयो– ‘बजारमा छिटै गुणस्तरीय काठ उपलब्ध हुँदैछ।’ पूर्ण सरकारी स्वामित्वको कर्पोरेसनले विभिन्न ३४ जिल्लाबाट काठ, दाउरा संकलन र बिक्री वितरण गर्दै आएको छ। अहिले बजारमा वार्षिक करिब १ करोड सीएफटी काठको माग रहेको वन विभागको तथ्यांक छ। मागअनुसार काठ उपलब्ध हुन नसक्दा विभिन्न मुलुकबाट ठूलो मात्रामा काठ आयात भइरहेको छ। दुवैथरीका प्लान्ट सञ्चालन र नेपाली जनशक्तिलाई प्रशिक्षण दिन भारतबाट अनुभवी जनशक्ति झिकाइएको लौडारीले बताउनुभयो। ‘यसबारेका विज्ञ जनशक्ति नेपालमा नभएकाले भारतीय अनुभवी जनशक्ति झिकाइएको हो, अहिले मेसिन जडान र प्रशिक्षण सँगसँगै भइरहेको छ’ –उहाँले भन्नुभयो।

प्लान्ट सञ्चालन शुरू भएपछि निजी क्षेत्र र अन्य व्यवसायीले पनि आफ्नो आवश्यकता र मागअनुसार सेवा लिन सक्ने लौडारीको भनाइ छ। सरकारी, सामुदायिक, निजी, साझेदारी वनसँग हातेमालो गर्दै प्लान्टमा प्रशोधन गरिएको काठ नियमितरूपमा बजारमा पुर्याउँदा विदेशी काठमा निर्भर हुनुपर्ने अवस्था घट्ने अनुमान गरिएको छ। अहिले बजारमा अन्य प्रजातिको तुलनामा सालको काठको माग उच्च छ। प्लान्टले अन्य प्रजातिका काठको समेत गुणस्तर र दिगोपन बढाएको खण्डमा काठको चर्कदो बजार मूल्यसमेत घट्न सक्ने काठ व्यवसायी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्