आत्महत्या गरेका संगीतकर्मीको “विरह”



रोजगारीको सिलसिलामा मलेसियामा रहँदै आई रोजगारदाताले उपलब्ध गराएको क्वाटरको कोठामै झुन्डिएर आत्महत्या गरेका गोरखाका शब्द संकलक तथा संगीतकार सन्तोष बानियाँँको शब्द भरिएको मार्मिक लोकदोहोरी गीत विरहको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

गायक–गायिका टीका पुन र अर्जुन कुँवरको स्वर रहेको गीतमा लय राजकुमार बानियाँ र शब्द स्व.सन्तोष बानियाँको रहेको छ। सन्तोष गत सोमबार मलेसियास्थित कोठामा डोरीमा झुन्डिएर मृत अवस्थामा भेटिएको मोडल बुद्धवीर थापाले बताए। टुहुरो, बरु दिन बिताउँला साथी बनेर, सुन चाँदीको महल, ओइलिएको फूललाई शिरमा सजाउँछ र कसले, तिम्रै भइनलगायतका गीत उनका शब्द र लयमा थिए।
हालैमात्र सार्वजनिक विरह गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठको निर्देशन तथा मोडलद्वय बुद्धवीर थापा र रञ्जिता गुरुङको साथमा बालकलाकार तथा स्व. बानियाँकी छोरी सिन्ड्रेलाको मन छुने अभिनय रहेको छ। गरिबीको कारण बच्चाको उपचार गर्न असमर्थ आमाबाबुले गरेको संघर्षको कथा भिडियोमा उतारिएको छ। भिडियोमा बुद्धवीर गाइने र आपराधिक व्यक्तिजस्ता विभिन्न रूपमा देखिएका छन्। तिम्रै लागि गाउँदैछु विरहको गीत। जे–जे थिए सबै दिए बाँकी अब यही आँसु दिन्न–दिन्न तिमीलाई राख्छु आफैंसित भाकामा टीकाले गाएकी छिन्– ‘भन्छन् अक्षर पानीमा लेखिन्न, मन रोएको आँखामा देखिन्न।’ जसमा गायक भन्छन्– ‘शब्द बेचे संगीतको धुन बेचे कैले आफ्नै पसिना खुन बेचेँ।’ एसएनबी मिडियाको प्रस्तुतिमा बनेको विरहको भिडियोमा सूर्य विनायक फिल्म प्रालिले दृश्य निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस्