अब बोलेर होइन गरेर देखाऊ



पुष्करलाल श्रेष्ठ,
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने घोषणा गर्दै वाम गठबन्धनसहित चुनावमा होमिएर दुई तिहाइ बहुमत हासिल गरेको आठ महिना बितिसक्दा पनि पार्टी एकता नगरेर कतै नेपाली जनतालाई झुक्याउन खोजेको त होइन भन्ने आशयसहितको यस स्तम्भकारको मिति २०७५ जेठ १ गते लेख प्रकाशित भएको २४ घन्टा बित्न नपाउँदै दुई पार्टीबीच भएको पार्टी एकता एउटा संयोग मात्र पनि हुनसक्छ। तर, ढिलै भए पनि आ–आफ्नो बचन पूरा गर्दै पार्टी एकतालाई ‘विकासकारी’ एकताको नाम दिएर नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको पार्टी एकीकरणलाई सुखद संयोग नै मान्नुपर्दछ।

कहिले प्रजातन्त्रको पुनः स्थापनाको नाममा, कहिले लोकतन्त्रको नाममा त कहिले गणतन्त्रको नाममा मुलुकले झन्डै तीन दशक लामो राजनीतिक यातना भोगिसकेको छ। विभिन्न राजनीतिक व्यवस्थाको नाममा भइरहने राजनीतिक आन्दोलनका कारण लामो समयदेखि प्राकृतिकरूपमा स्वर्गजस्तो अनुभूति हुने देशका जनताले नारकीय जीवन भोगिरहनुपरेको छ। शायद यही कुराको अनुभूति भएकैले होला प्रधानमन्त्री केपी ओलीले पार्टी एकीकरणपछि अब नेपाल १० वर्षभित्र स्वर्ग हुन्छ भनी घोषणा गर्नुभएको छ।
त्यसो त प्रजातन्त्रको पुनः स्थापना भएपछि २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अबको केही समयमा नेपाल सिंगापुरजस्तो हुने दाबी नगर्नुभएको होइन। त्यसै गरी २०६४ सालमा पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अबको केही वर्षमै नेपाललाई स्वीट्जरल्यान्डजस्तो विकास गरेर देखाउने उद्घोष गर्नुभएको थियो। यस हिसाबले अहिलेसम्म नेपाल सिंगापुर र स्वीट्जरल्यान्डजस्तो विकसित नभए पनि कमसेकम मलेसियाजस्तो त विकास भइसक्नुपर्ने हो। तर, आजका दिनसम्म आइपुग्दा हामी नेपाली त्यही मलेसियाको भरिया बनेर काम गर्न विवश छौं।

अहिले यो मुलुकमा जन्मिने हरेक नेपालीले आफ्नो टाउकोमा २४ हजार २ सय ७६ रुपियाँ ऋण बोक्न बाध्य हुनुपरेको छ। भर्खरै आप्mनो नीति तथा कार्यक्रम घोषणा गरेको प्रधानमन्त्री ओली सरकारले साँच्चिकै नेपाली जनतालाई यो ऋणभारबाट मुक्त गरेर समृद्ध अनि सुखी नेपाल बनाई १० वर्षभित्र यस मुलुकलाई स्वर्ग बनाउने हो भने अब बोलेर होइन गरेर देखाउन सक्नुपर्छ। भोलिदेखि त सरकारको मधुमासको समयावधि पनि सकिँदै छ क्यारे !

भनाइ, गराइ र भोगाइ तीन नितान्त फरक शब्द हुन्। त्यसैले अब केपी ओली र पुष्पकमल दाहालले बोलेर होइन गरेर देखाउन सक्नुपर्छ। हामीले केपी ओली र पुष्पकमल दाहालको बोली धेरै सुनिसकेका छौं। प्रतिबद्धताहरू पनि धेरै टिपिसकेका छौं। उखान र चुट्किलाहरू सुनेर धेरै हाँसिसकेका छौं। तर, जुन दिनसम्म हरेक नेपालीले सुखानुभूतिको महसुस गर्न सक्दैनन् तबसम्म कुनै पनि नेपाली जनता वास्तविकरूपमा हाँस्न सक्दैनन् भन्ने कुरा अब यी दुबै नेताहरूले राम्रोसँग बुझ्नुपर्दछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलिसकेपछि बनेको नेपाल कम्युनिस्ट पार्टी जनताद्वारा अनुमोदित एसियाकै शक्तिशाली पार्टी बनेको छ। यस पार्टीका नेताद्वय केपी ओली र पुष्पकमल दाहाल नेपाली राजनीतिको इतिहासमै शक्तिशाली नेता बन्नुभएको छ। हिजो उहाँहरूले भन्ने गरेको विकासको बाधक राजसंस्थालाई पनि उहाँहरूले नै हटाइसक्नुभएको छ। केपी ओली र पुष्पकमल दाहालले संयुक्तरूपमा नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई केन्द्रमा लगभग दुई तिहाइ बहुमत छ भने सातमध्ये छवटा प्रदेशमा आफ्नै बहुमतको सरकार छ।

भर्खरै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि स्वयम् प्रधानमन्त्री केपी ओलीले अब भारतसँग हाम्रो कुनै मतभेद बाँकी छैन भनिसक्नुभएको छ भने अर्का छिमेकी चीनसँग त उहाँको त्यसै पनि राम्रो सम्बन्ध छँदै छ। विपक्षी पार्टी नेपाली काँग्रेसलाई स्वयम प्रधानमन्त्री ओलीले बलियो प्रतिपक्षी नभई सहयोगी मात्र भनिसक्नु भएको छ। त्यसैले अब यो वा त्यो बहानामा देश विकास गर्न पाइएन भन्ने बहानाबाजी गर्ने ठाउँ पनि कुनै बाँकी छ जस्तो लाग्दैन। उहाँहरूकै नेतृत्वमा भइरहेको तीन दशक लामो आन्दोलनकै दौरान आर्थिक विकासमा छिमेकी देशहरू भारत र चीन आज कहाँबाट कहाँ पुगिसके भने नेपाल कुन स्थितिबाट गुज्रिरहनुपरेको छ भन्ने कुराले नेपाली जनतालाई जस्तै उहाँहरूलाई पनि अवश्य पिरोलिरहेकै हुनुपर्छ।

लामो समयदेखि चल्दै आएको एकतन्त्रीय तानाशाहीका कारण मुलक चरम भ्रष्टाचारमा डुबेको भन्दै गरिएको आन्दोलनपछि महान् उपलब्धिको रूपमा प्राप्त प्रजातन्त्रको पुनः स्थापनापछि बनेका प्रजातान्त्रिक सरकारहरूको शासनकालकै दौरान नेपाल अहिले संसारका १८० देशमध्ये १२२ औं भ्रष्ट देश बनिसकेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा तथ्यांकअनुसार यस वर्ष नेपालमा झन् भ्रष्टाचार बढेर पहिलेभन्दा नौ स्थान माथि उक्लेको छ। यस हिसाबले हेर्दा ८५ औं स्थानमा रहेको राजतन्त्रात्मक मुलुक भूटानको अगाडि हाम्रो स्थिति निक्कै लाजमर्दो देखिन्छ।

हेल्थ इफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले युनिभर्सिटी अफ कोलम्बियासँग मिलेर हावाको अवस्थाबारे सन् २०१८ मा सार्वजनिक गरेको रिपोर्टलाई आधार मान्ने हो भने, दक्षिण एसियामा वायु प्रदूषणका कारण हुने मृत्युदरमा नेपाल सबैभन्दा अगाडि रहेको छ। जसअनुसार नेपालमा प्रति १ लाख मृत्युमा २१५ जना त वायु प्रदूषणकै कारण मरिरहेका छन्। जबकि भूटानमा वायु प्रदूषणका कारण दक्षिण एसियामै सबैभन्दा कम १४४ जनाको मात्र मृत्यु हुने गर्छ। अध्ययनअनुसार आँखाले देख्न नसकिने पीएम २.५ वायु प्रदूषण रहेको नेपालको वायु अहिले डरलाग्दो क्यान्सरलगायत थुप्रै कडा रोगका कारण बनेको छ।

विकासको कुरा गरेर नथाक्ने नेताहरू भएको हाम्रो मुलुकका सडकहरू एसियाकै सबैभन्दा खराब रहेको पुष्टि भइसकेको छ। सडक दुर्घटनाका कारण वर्षमा हजारौं नेपाली मर्ने हाम्रो देश अन्तर्राष्ट्रिय संस्था एएनएन र डाटा लिड्सले गरेको सर्वेक्षणमा नेपालका सडकहरू एसियाकै खराब रहेको कुरा हालै सार्वजनिक भएको हो। दक्षिण एसियामा नेपालपछि बंगलादेशका सडकहरू खराब रहेको सर्वेक्षणमा देखाइएको छ भने सिंगापुरका सडक संसारकै सबैभन्दा राम्रा र सुरक्षित भएको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रसिद्ध नेपाली अर्थविद् डा. मदन दाहालका अनुसार संसारका अत्यन्तै गरिब वा निर्धन देशमा नेपाल १७ औं नम्बरमा पर्छ। अति कम विकसित तथा गरिब राष्ट्रको सूचीमा नेपाल लिपिबद्ध भए पनि पहिले हामीभन्दा धेरै गरिब मुलुक भूटान भने यो सूचीबाट बाहिरिसकेको छ। भूटानमा देखिएको आर्थिक सुधारका कारण संयुक्त राष्ट्रसंघीय समितिले गरिब तथा जोखिमयुक्त राष्ट्रहरूको सूचीबाट भूटानलाई बाहिर निकाल्ने निर्णय गरेको हो। प्रधानमन्त्री भइसकेपछि मिति २०७४ चैत्र ४ गते आफ्ना मन्त्री र सचिवहरूलाई सिंहदरबारमा निर्देशन दिँदै केपी ओलीले नेपाललाई मगन्तेरहित बनाउँछु भनी सम्बोधन गर्नुभएको कारण पनि शायद यही थियो कि ? उहाँले आफ्नो मूल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाल भनेर पहिलो चोटी यही कार्यक्रममा उद्घोष गर्नुभएको जस्तो लाग्छ।

विश्वको सबैभन्दा सुखी र खुशी जनता भएको देश फिनल्यान्ड रहेको त सबैलाई थाहा होला, तर अघिल्लो वर्षसम्म ९९ औं श्रेणीमा रहेको नेपाली जनताको खुशी जीवन यो वर्ष झरेर १०१ औं स्थानमा पुगी झन् दुःखी हुन पुगेको भने शायद धेरै नेपालीलाई थाहा नहुन सक्छ। यसमा पनि हामीलाई भूटानी जनताले उछिनेका छन्। १५६ राष्ट्रमध्ये ९७ औं स्थानमा रहेका भूटानी जनता दक्षिण एसियाकै सबैभन्दा खुशी र सुखी जीवन बिताउने भाग्यमानी मानिसमा पर्छन्। कुल ग्रार्हस्थ्य उत्पादन, जनताको प्रतिव्यक्ति आय, स्वस्थ जीवन, शैक्षिक स्तर, सामाजिक सद्भाव, स्वतन्त्रता, आपसी विश्वास, भ्रष्टाचारको मापदण्ड आदिलाई आधार मानेर खुशी दिवसको रूपमा हरेक वर्ष मार्च २० मा वल्र्ड ह्यापिनेसले यो तथ्यांक सार्वजनिक गर्ने गरेको छ।

पछिल्लो समयमा नेपालमा रोजगारको स्थिति दयनीय हुँदै गएपछि र स्वदेशमै काम गर्ने वातावरण नभएपछि अहिले लाखौं नेपालीले रोजिरोटीका लागि विदेशमा गएर काम गर्न बाध्य हुनुपरेको छ। सबैलाई थाहा भएकै कुरा हो, विदेश भ्रमणका लागि आफ्नो मुलुकको पासपोर्ट अर्थात् राहदानी अनिवार्य हुन्छ। तर, नेपालको पासपोर्ट अहिले विश्वकै खराब सूचीको सातौं नम्बरमा पर्छ। विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा सन् २०१८ फेब्रुअरी महिनामा हेन्ले एन्ड पार्टनरले गरेको सर्वेक्षणमा नेपाल लिवियासँगै ९९ औं स्थानमा परेको हो।

कुल २०५ देशको सूचीमा नेपाल अन्तिमबाट सातौं स्थानमा परेको छ। संसारकै बदनाम मानिएका सिरिया, इराक, अफगानिस्तान, पाकिस्तानजस्ता देश मात्र नेपालभन्दा पछि परेको देखिन्छ। यसैबाट पनि अनुमान लगाउन सकिन्छ कि नेपालीलाई विदेशमा यात्रा गर्नु कति असहज र अप्ठ्यारो छ भन्ने कुरा। अन्तर्राष्ट्रिय प्रेस इन्ष्टिच्युटको कार्यक्रममा भाग लिएर पोल्यान्डबाट अस्ट्रिया फर्किदै गर्दा र जापानबाट अमेरिका जाँदा नेपालीले बोक्ने हरियो पासपोर्टकै कारण विमानस्थलमा यस स्तम्भकारलेसमेत अनावश्यक झमेला झेल्नुपरेको तीतो अनुभव छ। अमेरिकाको मिजोरी विमानस्थलमा अमेरिकी सरकारको निम्तोमै अमेरिका पुगेको चिठी देखाउन नसकिएको भए त्यस बेला अमेरिकाबाटै फर्काइने हो कि भन्नेसम्मको डर उत्पन्न भइसकेको थियो।

हाम्रो देश कतिको दयनीय अवस्थामा पुगिसकेको रहेछ भन्ने यी केही प्रतिकात्मक उदाहरण मात्र हुन्। अबको १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर हुने, ५० लाख पर्यटक भित्र्याइने, २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, प्रांगारिक मुलुक घोषणा गर्ने, ५ वर्षभित्र उपत्यकाको चक्रपथमा रेल गुडाउने, सामाजिक सुरक्षा भत्ता ५ हजार दिने, अर्को सालभित्र भूकम्पपछिको पुनः निर्माण सम्पन्न गर्ने आदि वाम गठबन्धनले चुनावअघि आफ्ना चुनावी घोषणापत्रमा बाचा गरेका कुरा हुन्। अहिले यो मुलुकमा जन्मिने हरेक नेपालीले आफ्नो टाउकोमा २४ हजार २ सय ७६ रुपियाँ ऋण बोक्न बाध्य हुनुपरेको छ। भर्खरै आप्mनो नीति तथा कार्यक्रम घोषणा गरेको प्रधानमन्त्री ओली सरकारले साँच्चिकै नेपाली जनतालाई यो ऋणभारबाट मुक्त गरेर समृद्ध अनि सुखी नेपाल बनाई १० वर्षभित्र यस मुलुकलाई स्वर्ग बनाउने हो भने अब बोलेर होइन गरेर देखाउन सक्नुपर्छ। भोलिदेखि त सरकारको मधुमासको समयावधि पनि सकिँदै छ क्यारे !

 

 

 

 

प्रतिक्रिया दिनुहोस्