अविस्मरणीय प्रदर्शनसँगै सन्दीप फर्किए



नेपाल समाचारपत्र
काठमाडौं
इण्डियन प्रिमियर लिग (आईपीएल) मा अविस्मरणीय प्रदर्शन गरेर नेपाली क्रिकेटमा इतिहास रचेका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार साँझ नेपाल फर्केका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा सन्दीपलाई स्वागत गर्न नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको समेत उपस्थित र≈यो। आईपीएलमा खेलेका तीन खेलमै प्रभावशाली प्रदर्शन गरेपछि सन्दीपको विश्वमा चर्चा भएको हो। उनले विमानस्थलमा भएको पत्रकार सम्मेलनमा पनि बताए यात्रा अविस्मरणीय भयो भनेर।

उनले बताए– ‘मैले आईपीएलमा राम्रो अवसर पाए र सदुपयोग पनि गरे। त्यहाँ मैले केही नयाँ कुरा पनि सिक्न पाएँ। यस हिसाबले यो यात्रा धेरै अविस्मरणीय बनेको छ।

आईपीएलमा नेपाललाई चिनाउने मौका थियो चिनाउन सकें। यसमा म ज्यादै खुशी पनि छु। मैले अब अर्को सिजनमा अरू नेपाली खेलाडी पनि खेलेको हेर्न पाउने आशा गरेको छु।
सन्दीप आईपीएलको टोली दिल्ली डेयरडेभिल्ससँग २० लाख भारुमा आबद्ध भएका थिए। शुरूमा उनलाई प्लेइंग ११ मा राखिएको थिएन। लगातार दिल्ली पराजित भइरहँदा पनि सन्दीपको खेल्ने पालो आएको थिएन। जब दिल्ली जारी आईपीएलको प्लेअफ पुग्ने सम्भावना समाप्त भयो तब सन्दीपले डेब्यु गर्न पाएका थिए। उनले १२औं खेलमा पहिलो रोजाइको बलरका रूपमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध डेब्यु गरेका थिए। जसमा उनले पार्थिव पटेललाई आफ्नो पहिलो शिकार बनाएका थिए।

उनले मौका नपाएको कारण खुलाउँदै बताए– ‘टोली प्लेअफबाट बाहिरिसकेको स्थितिपछि मैले एक खेल खेल्न पाए”। त्यसमा मैले राम्रो खेलें। त्यसपछि थप दुई खेलमा पनि राम्रो गरें। ममाथि मात्रै टोली भर परेको छैन। मौका नपाउनुको कारण पनि अनुभवी खेलाडी टोलीमा रहेकाले थियो। तर मैले सिक्न धेरै कुराहरू बाँकी छ। यो सफलतालाई निरन्तरता दिन पनि जरुरी भएको सन्दीपले पत्रकार सम्मेलनमा बताए। उनले भने– ‘नेपाली क्रिकेटको संरचनालाई अघि बढाउनुपर्छ। अब क्रिकेटका लागि नेपाल क्रिकेट संघले जिम्मेवारी लिनुपर्छ। घरेलु प्रतियोगिता जतिपनि आयोजना गर्न सकिन्छ त्यति नै नेपाली क्रिकेट धेरै अघि जानेछ।


दिल्लीबाट नेपाल फर्केका सन्दीपका लागि यो सिजन व्यस्त हुने पनि तय छ। उनलाई वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आईसीसी विश्व ११ मा छनोट गरिएको छ। यदि उनले खेल्न पाएमा अझ बढी अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव प्राप्त गर्न सक्नेछन्। उनले यसका लागि पनि तयार भएको बताएका छन्।

सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेपछि वेस्ट इन्डिजमा हुने क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पनि पहिलो नेपाली क्रिकेटर बन्न गइरहेका छन्। गत मार्चमा लन्डनमा भएको सीपीएल अक्सनमा उनलाई ५ हजार डलरमा किनिएको थियो।

प्रतिक्रिया दिनुहोस्