‘गोरे’ मोरङ प्रहरी हिरासतमा



सरोज यादव, विराटनगर
साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।

उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो।

विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्र्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो।

सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याइएको छ। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

यसैबीच साढे ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरे पक्राउ परेकै दिन मोरङ प्रहरी हिरासतमा रहेका ३० मध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुकी ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्वडीआईजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो। जेल चलान हुनेहरूमा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल छन्।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, सम्बिरप्रसाद तोलाड्डे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायतलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो।

प्रहरी जवान अमरबहादुर थापालाई साधारण तारेखमा र विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी राखेर तारेखमा रिहा गर्ने आदेश भएको उहाँले जानकारी दिनुभयो। आदेश जारी भएपछि अभियुक्तहरूलाई मोरङ कारागार पठाइएको छ।

गौरीघाटबाट समातिए

काठमाडौं, (नेस)
साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा साढे ३३ किलो सुन काण्डको छानबिन गर्न गठित छानबिन समितिले काठमाडौं गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो।

साढे ३३ किलो सुन बाटोमै हराएपछि उक्त सुनकाण्ड सार्वजनिक भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरेको योजना र प्रहरीकै मिलेमतोमा सुन तस्करी हुने घटना रहस्य खुलेपछि सरकारले उक्त काण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो।

समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। सुनकाण्डका संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे फरार भएका थिए।

तर मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो।

सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो। टोलीले साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरेको बताएको छ। टोलीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको हो।

टोलीका संयोजक ईश्वरप्रसाद पौडेलले उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरूको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएको बताउनुभयो। पौडेलले करिब ३८ क्विन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताउनुभयो। अनुसन्धान जेरी जस्तै जेलिएको भन्दै हरेक जेरीलाई सेलरोटीजस्तो छुट्टयाउँदै जानुपर्ने संयोजक पौडेलले जानकारी दिनुभयो।

सुन काण्डमा २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरू ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले जानकारी दिनुभयो। संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको बताउँदै भन्नुभयो– ‘यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरू अभियुक्तलाई पनि सार्वजनिक गर्छौं।’ अनुसन्धान टोलीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि थप अनुसन्धान गर्नका लागि सरकारले म्यादसमेत थपेको छ।

गत माघ ९ गते दुबईबाट ल्याइएको साढे ३३ किलो सुन जिम्मा एयरपोर्टमा सानु वनले लिएका थिए। तर, साँझ भविन राईले सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटिएको खबर दिएका थिए।

गोरेले यस्तो दिए बयान

काठमाडौं, (नेस)
तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको छानबिन समितिलाई बयान दिएको बताइएको छ। छानबिन समितिका एक सदस्यका अनुसार गोरेले बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने मात्र काम गर्ने गरेका छन्।

गोरेको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो– ‘मभन्दा माथि काम गर्ने अरू पनि छन्।’ गोरेले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको समितिलाई जानकारी गराएका छन्। एकै दिनमा ८६ किलोसम्म सुन ल्याएको खुलासा पनि बयानको क्रममा गोरेले गरेको बताइएको छ। गोरेले नाम दिएका व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउने गृहकार्य समितिले गरेको छ।

प्रतिक्रिया दिनुहोस्