दरबार हाइस्कुल तत्काल बनाउन मन्त्रीको निर्देशन



काठमाडौं, (नेस)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दरबार हाइस्कुल पुननिर्माणमा तत्काल शुरू गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ।

भूकम्पले ध्वस्त उक्त स्कुलको अवस्था बुझ्न मंगलबार स्थलगत निरीक्षणमा पुग्नुभएका उहाँले महानगरपालिकासँग देखिएको समस्या तत्काल समाधान गरी पुनर्निर्माण तत्काल थालिने जानकारी दिनुभयो।

चीन सरकारले करिब १ अर्ब रुपियाँमा निर्माण गर्न लागेको सो विद्यालय नक्सापास गर्ने विषयमा विरोध हुँदै आएको थियो।

कामपाले अन्डरग्राउन्ड पार्किङसहितको भवन निर्माण गर्नपर्ने जनाउँदै नक्सा स्वीकृत गरेको थिएन। विद्यालयले गएको वैशाख २४ गते इजाजतपत्र प्राप्त गर्न आवश्यक कागजात महानगरमा पेस गरेको थियो। कामपा भवन निर्माण इजाजत विभाग प्रमुख रवीन्द्र पौडेलले केही दिनभित्रै नक्सा इजाजत दिने तयारी भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पहिला चीन सरकारसँग भएको सम्झौताबमोजिम नै नक्सा स्वीकृत गर्नेछौं। तत्कालको अवस्थामा अन्डरग्राउन्डको विषयमा छलफल गर्नेछैनौं।’ तर केही दिनअघि कामपाका मेयर विद्यासुन्दर शाक्यले अन्डरग्राउन्ड पार्किङको व्यवस्था नभई नक्सा पास हुन नसक्ने बताउनुभएको थियो।

मन्त्रीले हिजैबाट पुनर्निर्माण शुरू भइसकेको जनाए पनि कामपाले नक्सा स्वीकृत गरेपछि मात्रै चीन सरकारले पुनर्निर्माण गर्न शुरू गर्नेछ।

मन्त्री पोखरेलले भने केही समस्या नभएकाले दुई वर्षभित्र पुनर्निर्माण सक्ने गरी भवन निर्माण तत्कालै शुरू जानकारी दिनुभयो। चीनले निर्माण शुरू गरेको १८ महिनाभित्र विद्यालय पुनर्निर्माण गरिसक्ने सम्झौता गरेको छ। विद्यालयको अवस्थाबारे जानकारी लिन अकस्मात् विद्यालय पुग्नुभएका मन्त्री पोखरेलले नक्सा पास गर्न कामपाले बखेडा झिक्न नहुने बताउँदै निर्माणका लागि जनशक्ति आइसकेको अवस्थामा नयाँ सर्त राख्न नमिल्ने स्पष्ट पार्नुभयो।’

उहाँले निर्देशन दिनुभयो– ‘मैले आजैबाट भनेको छु, अब दरबार हाइस्कुलको पुनर्निर्माण शुरु हुनेछ।’ चीनले सम्पूर्ण लागत र ड्रइङ डिजाइनमा निर्माण गरी सरकारलाई जिम्मा दिइसकेको अवस्थामा दुई निकायले कामपाले नक्सा पास नगरिदिँदा समस्या परेको थियो। कामपाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले अबको एक साताभित्र नक्सा पास गरिने जानकारी दिनुभएको थियो।

चीनको प्राविधिक टोलीले साढे ३ तले पुरानो भवन ४ तलासम्म बनाउने गरी ड्रइङ तयार गरिसकेको छ। चीनको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने तयारी भएको थियो।०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको सो विद्यालयका बालिबालिका अहिले टहरामा पढ्न बाध्य छन्।

विद्यालय पूर्ण रूपमा तयारी भएपछि चिनियाँ पक्षले नेपाललाई साँचो हस्तान्तरण गर्ने गरी जनवरी अन्तिम सातादेखि निर्माण शुरु गर्ने तयारी भएको शिक्षा मन्त्रालयअन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कार्यकारी निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँले चीनको प्राविधिक टोलीले निर्माण शुरु गर्ने विषयमा सम्पूर्ण तयारी गरिसकेको जानकारी दिनुभयो।

अहिले दरबार हाइस्कुलको एउटै भवनमा भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) र संस्कृत मावि सञ्चालन हुँदै आएको छ। भूकम्पले ध्वस्त भएको करिब एक महिनापछि नेकपा माओवादी केन्द्र काठमाडांैका जिल्ला अध्यक्ष हिमाल शर्माको नेतृत्वमा टहरा बनाइएको थियो।

शिक्षा मन्त्रालयले सो विद्यालयलाई शिक्षाको संग्रहालय बनाउने योजना अघि सारेको थियो तर स्थानीय र शिक्षासंग सरोकार राख्ने अन्यले विरोध जनाएपछि दरबार हाइस्कुल जस्ताको तस्तै बन्न लागेको हो।

विसं. १९१० सालमा स्थापित विद्यालय सुरुमा निःशुल्क पढाइन्थ्यो। कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका व्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आएपछि दरबार हाइ स्कुलमा जनताका छोराछोरी पनि पढ्न पाएका थिए । अहिले विद्यालयमा १ सय ३९ विद्यार्थी अध्ययनरत छन्।

२०३० को राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि जिल्ला शिक्षा कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सो विद्यालय राणा प्रधानमन्त्री वीरशमशेरले राणा परिवारका छोराछोरीलाई मात्रै पढाउन स्थापना गरेका थिए। विसं १९९० सालको भूकम्पले समेत क्षति पु¥याएको सो विद्यालय जीर्ण बन्दै गएको थियो।

प्रतिक्रिया दिनुहोस्