एक दशकपछि हट्यो भारतीय क्याम्प



नेपाल समाचारपत्र
काठमाडौं
भारतले विराटनगरमा सञ्चालन गरेको आफ्नो अस्थायी क्याम्प हटाएको छ। २०६५मा कोशी बाँध फुटेपछि बाँध पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय दूतावासको पहलमा क्याम्प स्थापना गरिएको थियो। एक वर्षभित्रैमा बाँध पुनः निर्माण भए पनि भारतले आफ्नो कार्यालय नियमितरूपमा सञ्चालन गर्दै आएको थियो।

क्याम्प हटाउन नेपालले पटक–पटक कूटनीतिक पहल गरे पनि भारतले गम्भीरतापूर्वक लिएको थिएन। क्याम्प स्थापना भएको करिब १० वर्षपछि सो कार्यालयको उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत प्रस्ट्याएको छ। क्याम्प स्थापनाको उद्देश्य पूरा भएकाले हटाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र हालै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा यो विषयमा छलफल भएपछि बल्ल क्याम्प हटेको परराष्ट्र मन्त्रालय निकट स्रोतले जनाएको छ। विराटनगर महानगरपालिका–१३ स्थित मलाया रोडमा आफ्नो मुलुकको झण्डासहित फिल्ड अफिस खडा गरेको थियो।

भारतले वीरगन्जमाझैं कन्सुलेट कार्यालय स्थापनाको पहल गर्दै लामो समयसम्म फिल्ड कार्यालय नहटाएको परराष्ट्रका अधिकारीहरू बताउँछन्।

तत्कालीन माओवादी नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहेका बेला सो कार्यालय हटाउन भारतलाई औपचारिक पत्राचार गरे पनि भारतले कुनै जवाफ दिएको थिएन। प्रधानमन्त्री ओलीले नवगठित पार्टीको गत शनिबारको पहिलो संसदीय बैठकमा भारतीय फिल्ड कार्यालय हट्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्